Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कुखुरापालनबाट वार्षिक ४० लाख आम्दानी

कुखुरापालनबाट वार्षिक ४० लाख आम्दानी

  • 365
    SHARES
  • कुखुरापालनबाट वार्षिक ४० लाख आम्दानी

    झापा । झापाको मेचीनगर-८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गरिरहेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् ।

    द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए ।

    एक करोड लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले लेयर्स जातका छ हजार पाँच सय कुखुरा पालेका छन् । लेयर्स जातका कुखुराले एक ‘लट’मा पाच वर्षसम्म अण्डा दिने गरेको तर १५ महिना जतिचाहिँ राम्रो अण्डा दिने उनकाे भनाइ छ ।

    ‘स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकाले सुरुमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ’, गिरीले भने ।

    बीबीएस पास गरेका उनले युरोपका क्यानाडा, जर्मन, पोर्चुगललगायत विभिन्न देशमा रोजगारीको सिलसिलामा धेरै वर्ष बिताउका थिए । तर जहाँ बसे पनि नेपालमा बसेर व्यवसाय गरे जत्तिको सन्तुष्टि आफूलाई नमिलेको उनले बताए ।

    कृषिमा सम्भावना देखेर रहरले विदेसबाट आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकामा यसबाट आफू खुसी भएको उनले सुनाए । फार्ममा दैनिक पाँच हजार अण्डा उत्पादन हुन्छ । अण्डा प्रतिगोटा ११ मा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गरे ।

    लेयर्स जातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ । कुखुराको सुली (मल)बाट समेत राम्रो आम्दानी हुने गरेको उनले बताए । प्रतिबोरा तीन सयमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीको भनाइ छ । दुईवटा ठूला-ठूला कटेरोमा कुखुरा पालिएको छ ।

    कुखुरापालनसँगै उनले क्रसर व्यवसायमा समेत लगानी गरी अगाडि बढाएका छन् । ‘कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पुर्‍याएर काम गर्दा नाफा हुन्छ’, उनले भने ।

    कुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँछ, यसपालि पनि धेरै कुखुरा मरेका उनले बताए । त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो सुनाए ।

    ‘हामी जस्ता युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि उद्यमशील किसानलाई सरकारले आवश्यक सहयोग गरी स्वदेशमै आधुनिक खेती गर्न प्रेरित गर्न जरूरी छ’, उनले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij