Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

पर्यटकीय गन्तव्यस्थल बन्दै कुश्मा

पर्यटकीय गन्तव्यस्थल बन्दै कुश्मा

  • 359
    SHARES
  • पर्यटकीय गन्तव्यस्थल बन्दै कुश्मा

    पर्वत । तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरूले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् ।

    ‘एक साताअघिदेखि नै बुकिङ हुने रहेछ त्यसैले हाम्रो पालो आउने कुरै भएन’, समूहका एक सदस्य दीपेश पौडेलले भने, ‘त्यसको साटो ‘जिपलाइन’को अनुभव लियौं ।’ उनले शनिबार कुश्मामै बसेर आइतबार बिहानै मुस्ताङको यात्रा तय गर्ने बताए ।

    यस्तै चितवनबाट आएकी शर्मिला गुरुङ पनि झोलुङ्गे पुलमा श्रीमान र छोरीसहित तस्बिर कैद गर्दै थिइन् । दसैंमा आउने योजना बनाए पनि झरीले रोकपछि योजना तिहारमा सफल भएको उनले जानकारी दिइन् ।

    पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मुस्ताङ जाने पर्यटक मात्रै नभइ पोखरासम्म पुग्ने पर्यटकहरू पनि बञ्जी, जीपलाइन लगायतको अनुभव लिन कुश्मासम्म पुग्न थालेका हुन् ।

    तर कुश्मालाई नै गन्तव्य बनाएर आउने पर्यटकको संख्या भने निकै कम भएको रेष्टुराँ व्यवसायी मौसम केसीले बताए । ‘कुश्मासम्म आए पनि बास बस्ने पर्यटकहरू कम हुनुहुन्छ,’ उनले भने, ‘धेरै जसो पर्यटक निजी गाडीमा बञ्जी हेर्न आउने र पोखरा फर्कनुहुन्छ यसरी बजार प्रवर्द्धन हुँदैन ।’

    शनिबार मात्रै कुश्माको झोलुङुगे पुल तर्नेको संख्या दुई हजारभन्दा बढी रहेको ‘द क्लिफ’ कम्पनीले जानकारी दिएको छ । पुल तर्न मात्रै प्रतिव्यक्ति पाँच सय तोकिएको छ ।

    कम्पनीका अनुसार हाल औसतमा दैनिक ६० देखि ६५ जनाले बञ्जीजम्प गर्दै आएको सञ्चालक नेत्र पराजुलीले बताए । ‘म बिहानैदेखि खटिएको थिए, शनिबार स्काइ साइक्लिङ, स्काइचियर, स्काइक्याफे, गुलेली पिङ खेल्नेहरूको भिड थियो’, उनले भने, ‘रिसोर्टमा बास बस्ने ‘टेन्ट’ पनि भरिभराउ थिए ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij