Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

धान फल्ने जमिन मासेर सुन्तला र कागती खेती

धान फल्ने जमिन मासेर सुन्तला र कागती खेती

  • 348
    SHARES
  • धान फल्ने जमिन मासेर सुन्तला र कागती खेती

    बाग्लुङ । चार वर्षअघि सम्म लहलह धान झुल्ने बाग्लुङ नगरपालिका-८ सिगानाको पाल्तेखेतमा अहिले हरियाली देख्न सकिन्छ ।

    सिगानाका निर्वतमान वडाध्यक्ष तथा पूर्वभारतीय सेना ४६ वर्षीय राजन जिसीले धान फल्ने खेतमा व्यावसायिक सुन्तला र कागती खेती सुरु गरेको चार वर्ष भयो । अहिले उनको सुन्तला बगानमा एक सय ३८ सुन्तलाका बोटमा फल लाग्न सुरु भएको छ भने ५२ वटा कागतीका बोट हुर्किरहेका छन् ।

    राम्रो धान फल्ने खेतमा सुन्तला खेतीका विरूवा लगाउदा धेरैले खेतीयोग्य जमिन मासेर रूख उमारेको भन्ने गरेका थिए । तर, व्यावसायिकरूपमा धान खेतीभन्दा धेरै गुणा बढी आम्दानी सुन्तला खेतीले दिने भएपछि जिसीले धान मासेर सुन्तला र कागती खेती गरेका हुन् ।

    यस संगै उनले परीक्षणका लागि एक रोपनी जग्गामा बहुगुणी फलफूल किबी पनि रोपेका छन् । १६ वर्ष भारतीय सेनामा सेवा गरेर अवकाश पछि गाउँमै उद्यम गर्ने सोचका साथ कृषिसँगै उद्योग सञ्चालनमा ल्याएको उनले बताए ।

    जिसी २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको कार्यकालमा सिगानामा सुन्तला खेतीको विस्तार भएको थियो । वडाध्यक्षको कार्यकालभरिमा सिगानाका जनतालाई ३५ हजार सुन्तलाका बिरूवा लगाउनका लागि अभियान चलाइएको थियो ।

    ‘मेरै घरमा सुन्तला थिएन, यो बीचमा मैले सुन्तला खेतीका धेरै फाइदा बुझे, अहिले सात रोपनी जग्गामा सुन्तला र कागती खेती गरेको छु’, जिसीले भने, ‘धान खेती मासेर सुन्तला लगाउँदा तत्काललाई भन्दा पनि दीर्घकालीन रूपमा फाइदा पुग्छ, सुन्तलाकै बीचमा अन्य तरकारी खेतीसमेत गर्दै आएको छु, फर्निचर उद्योग र कृषि खेतीबाट आठजनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको छु ।’

    अवकाश पछिको जीवन धेरैले आराम गरेर बिताउने गरे पनि आफूले भने कृषि, उद्यम र सामाजिक कामलाई सँगसँगै लगेको उनले बताए । जिसीले परीक्षणका लागि लगाएको किबी खेतीसमेत सफल भएको बताउँदै पहिलो वर्ष नै किबीले राम्रो उत्पादन दिएको उनको भनाइ छ ।

    जिसीकी श्रीमती पुष्पा क्षेत्रीले सुन्तला र कृषि खेतीमा सघाउँदै आएकी छिन् । सुन्तला जोन कार्यक्रममा समेटिएको सिगानामा वार्षिक दुई करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले बताए ।

    आगामी पाँच वर्षभित्र सिगानाले सुन्तला बिक्री बापत वार्षिक पाँच करोड भित्र्याउने लक्ष्यका साथ कृषि ज्ञान केन्द्र, बाग्लुङ नगरपालिका र सुन्तला जोनमार्फत अनुदानमा सुन्तलाका बिरुवा रोपण कार्य भइरहेको सिगानाका सुन्तला किसानहरूले बताएका छन् ।

    सिगानामा सुन्तला भण्डारण गरी चैत वैशाखमा बिक्री गरेर दोब्बर आम्दानी लिन सक्ने गरी २० टन क्षमताको विद्युतीय शीत भण्डार गृहसमेत तीन वर्षदेखि सञ्चालनमा छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij