Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कर्णाली राजमार्गमा सवारीको नयाँ भाडादर कायम

कर्णाली राजमार्गमा सवारीको नयाँ भाडादर कायम

  • 322
    SHARES
  • कर्णाली राजमार्गमा सवारीको नयाँ भाडादर कायम

    कर्णाली । कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनको भाडादर कायम गरिएको छ । महँगी बढेकाले नयाँ भाडादर कायम गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ मा बसेको बैठकले नेपाल सरकारले गत असार २७ गते निर्धारण गरेको भाडादरअनुसार जुम्ला, कालीकोट र सुर्खेतसम्मको भाडादर कायम गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए ।

    प्रमुख महतका अनुसार उक्त निर्धारित भाडादरमा १५ प्रतिशत बढाएर नयाँ भाडादर कायम गरिएको हो । जसमा जुम्ला-सुर्खेतसम्मको एक हजार दुई सय ८३ भाडा दरमा १५ प्रतिशत बढाएर एक हजार चार सय ७५ कायम गरिएको छ ।

    यस्तै मिनिबस/हाइसको एक हजार ५७० लाई बढाएर एक हजार आठ सय पाँच कायम गरिएको छ । जुम्ला-सुर्खेत जीपका लागि एक हजार आठ सय ४५ मा १५ प्रतिशत बढाएर दुई हजार एक सय २१ भाडा पुगेको उनले बताए ।

    प्रमुख महतका अनुसार जुम्ला काठमाडौंका लागि चार हजार भाडा लिने गरेको बसको भाडादर तीन हजार दुई सय २० कायम गरिएको छ ।

    नागरिकले अटोरिक्सा, जीप, हाइस/मिनिबस, बसलगायतका सवारीसाधनले महँगो भाडा लिएर नागरिकलाई मर्कामा पारेको जनगुनासो आएपछि कर्णाली राजमार्गमा सञ्चालन हुने सबै प्रकारका सवारी साधनको भाडादरमा हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए ।

    कर्णाली प्रदेश सरकारले सवारी यातायातसम्बन्धी भाडादर कायम नगरेको र कानून पनि नबनाएकाले यहाँका पहाडी तथा हिमाली जिल्लाको भाडादर कायम गर्न समस्या भएको केसरीको भनाइ छ ।

    सवारी यातायातसम्बन्धी ऐन नबनेका कारण मनोमानी तरिकाले व्यवसायीले भाडा असुल्ने गरेको नागरिक समाज जुम्लामा संयोजक राजबहादुर महतले बताए । नागरिकलाई केन्द्रमा राखेर व्यवसायीले न्यायोचित भाडा लिनुपर्ने र त्यहीअनुसार सेवा दिनुपर्ने उनको भनाइ छ ।

    स्थानीय दीपक शाहीका अनुसार १५ प्रतिशत भाडा बढाएर दर कायम गरे पनि यातायात व्यवसायीले दुई/चार सय बढी नै असुल्ने गरेको दाबी गरे ।

    नेपाल सरकारको निर्धारित भाडा दरअनुसार पक्की सडकमा ठूलो सवारी साधन प्रति किलोमिटर ५.३९, मझौला सवारी साधन प्रतिकिमी ६.६० र सानो सवारीसाधन प्रतिकिमी ७.७५ छ । जसमा कात्तिक १५ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको बैठकले १५ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो ।

    व्यवस्थापक एवम् नियमनकारी निकायले भाडादर कायम गरे पनि यातायात व्यवसायीहरूले त्यसलाई कार्यान्वयनमा ल्याएको छैन । चार दिनअघि जुम्ला प्रशासन बसेर कायम गरिएको भाडा दरभन्दा बढी भाडा असुलेको स्थानीय डिकेश शाहीले बताए ।

    उनका अनुसार जुम्ला/सुर्खेत हाइसको भाडा एक हजार आठ सय पाँच हुँदा जुम्ला कुडारीबाट सुर्खेतका लागि थप छ सय तिर्नुपरेको जानकारी दिए ।

    छोटो दूरीमा चल्ने अटो रिक्साले प्रतिकिमी ८.५२ र जीप तथा भ्यान ७.५९ लिनुपर्नेमा १५ प्रतिशत भाडा बढाउँदा पनि प्रतिकिलोमिटर १२ देखि १४.२८ असुली रहेको जुम्ला तिला गाउँपालिकाका स्थानीय धीरबहादुर सिंहले गुनासो गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij