Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

पिता–पुत्रको पाइलट प्रेम र प्रधानमन्त्री पद

पिता–पुत्रको पाइलट प्रेम र प्रधानमन्त्री पद

  • 1.1K
    SHARES
  • पिता–पुत्रको पाइलट प्रेम र प्रधानमन्त्री पद

    नेपाली राजनीतिमा प्रसिद्धि प्राप्त गरेका थुप्रै पिताका पुत्र–पुत्रीहरू आफ्ना पिता प्रदर्शित पथगामी रहेका छन् । ती मध्ये थोरै मात्रले आफ्नो अलगै पहिचान बनाउन सकेका छन् । त्यस्ता थोरै मध्येका एक हुन् नेपाली कांग्रेस नेता प्रकाशमान सिंह । नेपाली राजनीतिका लौहपुरुष गणेशमान सिंह र उनका पुत्र प्रकाशमान सिंहबीच विवेचनाका विभिन्न विषय छन् । समान प्रकृतिका प्रशस्तै प्रसंगहरू छन् । ती सबैको आ–आफ्नै महत्त्व छ– नेपाली राजनीतिमा रुचि राख्नेहरूका लागि । ती सबै प्रसंगको चर्चा एउटा आलेखमा असम्भव छ । तसर्थ यहाँ फरक समयमा देखा परेको एउटा संयोगात्मक प्रसंगलाई चर्चा गरिको छ । समय पृथक रहे पनि प्रसंग भने प्रजातन्त्र प्राप्तिको संघर्षसँग जोडिएको थियो । 

    images

    प्रसंग १९७१ सालको हो । त्यसबेला मुलुक निरङ्कुश पञ्चायती व्यवस्थाको जकडनमा थियो । शासकविरुद्ध बोल्ने, लेख्ने, विद्रोह गर्ने प्रजातान्त्रिक अधिकार प्रतिबन्धित थियो । राजनीतिक दलहरू प्रतिबन्धित थिए । जनताले आफ्ना भावहरू निर्वाध अभिव्यक्त गर्न पाउँदैनथे । अन्यायी पञ्चायती शासन र शासकविरुद्ध बोल्न–लेख्नेले जेल जानुपर्थ्याे । ज्यानै समेत माया मार्नु पर्थ्याे । राजाले प्रजातान्त्रिक हक अधिकारको अपहरण गरेका थिए । पञ्चायतका पृष्ठपोषकहरूको जगजगी थियो । अपहरित प्रजातान्त्रिक हक अधिकारलाई पुनस्र्थापित गराउने आन्दोलनमा अहोरात्र सक्रिय थिए गणेशमान सिंह र मंगलादेवी । त्यसबापत गणेशमान सिंहलाई सर्वस्व हरणसहित आजीवन काराबासमा राखिएको थियो । मंगलादेवी काराबासमा रहेकै बेला सिकिस्त बिरामी भएपछि उपत्यका छोड्न नमिल्ने गरी जेलबाट रिहा गरिएको थियो । सिद्धान्त र आदर्शको राजनीति  गरेका कारण प्रकाशमानको परिवारले हदैसम्मको दुःख पाए । परिणामतः स्कुले विद्यार्थीबयमा पाउनुपर्ने पिता–माताको पूर्णकालीन परवरिस पाएनन् प्रकाशमानले । तथापि पढाइमा प्रकाशमान अब्बल थिए । एस.एल.सी. उत्तीर्ण गरे पश्चात् पिताको मार्गदर्शन अनुरुप आइ.एस्सी. अध्ययन प्रारम्भ गरे अमृत साइन्स क्याम्पसमा । उत्कृष्ट अंकसाथ आइ.एस्सी. उत्तीर्ण गरे । दोस्रो वर्षको विद्यार्थी छँदा क्यानेडेली सरकारले नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा पाइलटको अध्ययन अवसरका लागि दरखास्त आह्वान गर्ने गरेको जानकारी पाएका थिए । आइ.एस्सी. उत्तीर्ण गरिसकेपछि पारिवारिक बेडा पार लगाउन कुनै सम्मानित पेशामा आबद्ध हुनुपर्ने बाध्यताको बोध गरे प्रकाशमानले । उनी त्यसको उपयुक्त संवोधनको खोजीमा थिए । त्यसैबेला उनले क्यानेडेली सरकारले पाइलट पढ्नका लागि छात्रवृत्ति प्रदान गर्ने सूचना निकालेको चाल पाए । उनले पाइलट बन्ने धोकोले दरखास्त दिए । प्रकाशमान र उनका दाजु प्रदिपमानको छनोट पनि भयो । तर पञ्चायती शासकहरूले गणेशमान पुत्र भएकै कारण दुवै दाजुभाइको नाम अन्तिम समयमा अनुमोदन गरेनन् । फलतः दुबै दाजुभाइको पाइलट पढ्ने योजना साकार हुन पाएन । 

    पुत्र प्रकाशमानले पाइलट बन्न नपाए झैं पिता गणेशमान सिंह पनि एउटा कालखण्डमा पाइलट बन्न नपाएका एक भक्तभोगी थिए । उक्त प्रसंग हो गणेशमान सिंहले जेलबाट भागेर कलकत्ता पुगेपछिको । दोस्रो विश्वयुद्ध चलिरहेको थियो । भारतमा अंगे्रजको शासन थियो । अंग्रेज सेनामा भर्ती हुनेक्रम तीव्र थियो । पहिचान लुकाएर अनेक हण्डर ठक्कर खाँदै कलकत्ता पुगेका गणेशमानले आफ्ना पुराना स्थानीय मित्रहरूबारे खोजी गरे । कोही पनि घरमा भेटिएनन् । धेरै अंग्रेज सेनामा एयरम्यानमा भर्ना भएको थाहा पाए । आफ्नो मुलुकको जेलबाट भागेका ती क्रान्तिकारी कलकत्तामा कतिञ्जेल बरालिएर बस्ने भनी एयरम्यानरूपमा भर्ना हुन गए । दार्जिलिङ निवासीको छद्म परिचयबाट एयरम्यानमा प्रवेशको प्रयास गरे । एक अफिसरको कन्सिडरेसनबाट एयरम्यानमा उनको भर्ना भयो । त्यहाँ एयरम्यानको तालिम पछि जहाज उडाउन पाइने अर्थात् पाइलट बन्न पाइने प्लान बुनेका रहेछन् उनले । तर सामान्य राइफल चलाउने सीपबाहेक उनले थप केही सिक्न पाएनन् । हवाइजहाजहरू आवतजावत गरेको हेरेरै दिन बित्न थाल्यो पाइलट बन्ने सपना सजाएका ती क्रान्तिकारीको । क्रान्तिकारी ती नायकलाई त्यो निको लाग्ने कुरो थिएन । निराशाले छोप्यो उनलाई । उनले त्यहाँबाट उम्किने उपाय सोच्न थाले । बहाना पनि जुर्‍यो । एक दिन परेडको क्रममा एक अंग्रेज सैनिक अधिकारीले डोमिनेट गरेको फिल भएछ उनलाई । उनले त्यही नैं उसलाई एक झापड दिए र तीन चार लात थपे । नेपालको जेलबाट भागेका ती क्रान्तिकारी अंग्रेज सेनाको हिरासतमा परे । तर एक जना गफुर नामका डाक्टरको सहयोगमा त्यहाँबाट मुक्त मात्र भएनन् थप तालिमका लागि लाहोरबाट बङ्गलोर लगिए । त्यहाँ पाइलट बन्ने उनको प्लान पूरा होला जस्तो लागेको थियो । तर उनको अनुमान गलत ठहरियो । बाधा बन्यो उनको होचो कद । त्यसको प्रतिरक्षा गर्दै उनले अफिसरहरूसँग ‘जापानीहरू प्नि गोर्खालीभन्दा अग्ला छैनन् नि !’ भन्दै तर्क गरे । त्यसको जवाफमा उनीहरूले ‘जापानीका लागि बनेका हवाइजहाज बेग्लै स्ट्याण्डर्डका हुन्छन् । तिम्रा लागि छुट्टै प्लेन बन्न सक्दैन भन्ने जवाफ मात्र दिएनन् पाइलट बन्ने धुन छोड, तिमी गनर बन’ भने । आफ्नो चाहना पूरा नहुने भएपछि गणेशमानले गनर बन्ने प्रस्तावसँगैे अंग्रेज आर्मीको जागिर त्यागी दिए । यसरी प्रकारान्तरले पिता पुत्रकै पाइलट बन्ने प्लान प्लानमै सीमित बन्न पुग्यो ।

    जहाजको पाइलट बन्ने प्लान पूरा नभए पनि दुवैले नेपालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा अग्रणि भूमिका निर्वाह गरे । २०४६ सालको जन आन्दोलनका सर्वोच्च कमाण्डर, सर्वमान्य नेता गणेशमान सिंहले प्रजातन्त्र प्राप्ति पश्चातको अन्तरिम सरकारमा प्राप्त प्रधानमन्त्री पद आफ्ना सहयोद्धा कृष्णप्रसाद भट्टराइलाई सुम्पिएर त्यागको एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरे ।

    पुत्र प्रकाशमानले नेपाल विद्यार्थी संघको साधारण सदस्यबाट पञ्चायती व्यवस्थाविरुद्ध र लोकतान्त्रिक हक अधिकार प्रप्तिको आन्दोलनमा आफूलाई समर्पित गरे । त्यस क्रममा अविचलित रहि आफूलाई संघर्षमा होमे । आन्दोलनमय बनाए आफ्नो जीवनलाई । त्यसव्रmममा विश्वविद्यालय तहको उच्च शिक्षासमेत उत्कृष्ट अंक साथ प्राप्त गरे । राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा समेत सरिक हुन सजिलो होस् भन्ने उद्देश्यले विश्वविद्यालयमा प्राध्यापन आरम्भ गरे । तर त्यसले समेत पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा होमिन बाधा परेको महसुस भएपछि प्राध्यापन पेसासमेत त्यागे । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनको काठमाडौं मोर्चा सम्हाले । प्रजातन्त्र प्राप्ति पश्चातका अघिल्ला निर्वाचनहरूमा काठमाडौंमा कम्युनिस्टहरूले मात्रै जित्ने गरेको अवस्थामा कार्यकर्ताहरूलाई संगठित गरी आफ्नो नेतृत्वमा पार्टीलाई काठमाडौंबाट सानदार विजय दिलाउन सफल भए । उनका कारण पार्टीका कार्यकर्तामा उत्साह मात्र थपिएन अभूतपूर्व रूपमा आत्मविश्वास पनि जाग्यो । 

    देशभरिका नेता कार्यकर्ताले उनको उच्च मूल्यांकन गर्दै उनलाई उक्त पार्टीको क्रमशः महामन्त्री र उपसभापति पदमा निर्वाचित गरे । तत्कालीन राजा ज्ञानेन्द्रको हुकुमी शासनमा समेत पिताको पथ पछ्याउँदै लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरे । पार्टी भित्र र बाहिर पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको वकालत गर्ने नेताको छवि बनाउन सफल छन् प्रकाशमान ।

    पाइलट बनेर जहाज उडाउने सपना पालेका प्रकाशमानले जहाज त उडाउन पाएनन् तर एक योग्य प्रधानमन्त्री बनेर देशको पाइलट बन्ने प्लान भने पालेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology