Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

सरकारले चासो दिएन, विद्यार्थी संख्या झन् घट्यो : प्रधानाध्यापक

सरकारले चासो दिएन, विद्यार्थी संख्या झन् घट्यो : प्रधानाध्यापक

  • 707
    SHARES
  • सरकारले चासो दिएन, विद्यार्थी संख्या झन् घट्यो : प्रधानाध्यापक

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानमा रहेको ब्रह्म प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएको १२ वर्ष भएको छ । वि.सं. २०६७ मा दिवा खाजा कार्यक्रम लागू हुँदा सयभन्दा बढी विद्यार्थी रहेका यस विद्यालयमा हाल जम्मा ४५ विद्यार्थी मात्रै अध्ययनरत छन् ।

    images

    नेपाल सरकारले सीमान्तकृत र लोपोन्मुख जातिका विद्यार्थी अध्ययन गर्ने विद्यालयलाई लक्षित गरेर ०६७ मा विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको थियो ।

    त्यसको केही वर्षपछि अन्य विद्यालयहरूमा समेत दिवा खाजा कार्यक्रम लागू गरिएपछि विद्यार्थी घट्ने क्रम सुरु भएको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले बताए ।

    ‘दिवा खाजा कार्यक्रम सुरु हुँदा विद्यालयमा सयभन्दा बढी विद्यार्थी अध्ययन गर्दथे, अहिले घटेर ४५ मा सीमित छन्’, प्रअ केसीले भने, ‘अन्य विद्यालयमा पनि दिवा खाजा कार्यक्रम विस्तार सँगै अन्य कारणले पनि विद्यार्थी संख्या निरन्तर ओरालो लागेको हो ।’

    सरकारले सुरुमा दिवा खाजा कार्यक्रमका लागि प्रतिविद्यार्थी रु १२ उपलब्ध गराउँदै आएकोमा अहिले रु १५ पुर्‍याएको छ । ‘सुरुका वर्षहरूमा दिवा खाजाले विद्यार्थीहरू नियमित विद्यालय आउने क्रम बढाउनाका साथै छुट्टी नहुँदै भाग्ने क्रम रोकिएको थियो’, केसीले भने,‘अब बिस्तारै अभिभावकहरूको आर्थिक अवस्थामा सुधार हुँदा अभिभावकको रोजाइमा निजी विद्यालय पर्न थालेपछि विद्यार्थी घट्दै गएका छन् ।’

    विद्यालयमा सुरुका वर्षमा सीमान्तकृत समुदायका बालबालिकासँगै अन्य जातिका बालबालिका पनि अध्ययन गर्दै आएका थिए । अहिले बोट तथा दलित बालबालिका मात्रै अध्ययनका लागि आउने गरेको प्रधानाध्यापक केसीले बताए ।

    सरकारले विद्यार्थीको टाउको गनेर धेरै विद्यार्थी भएका विद्यालयलाई बढी सुविधा दिने गरेको र थोरै विद्यार्थी भएका विद्यालयहरूमा शैक्षिक पूर्वाधार विकासका लागि रकम पर्याप्त निकासा नहुँदा विद्यालयको शैक्षिक वातावरण सुधार गर्न नसकेपछि विद्यार्थीहरू छिमेकी विद्यालय र निजी विद्यालयमा आकर्षित हुँदै गएको उनी बताउँछन् ।

    राज्यले माध्यमिक तहसम्मको विद्यालयलाई स्थानीय तहको जिम्मा लगाएको भएपनि जनप्रतिनिधिहरूले शिक्षालाई भन्दा अन्य भौतिक विकासलाई प्राथमिकतामा राख्ने गरेको केसीले बताए । विद्यालयको विभिन्न संरचनाहरू निर्माण गर्दै शैक्षिक वातावरण सुधार गर्नुपर्ने अवस्था हुँदा पनि स्थानीय सरकारले खासै चासो नदिएको केसीको गुनासो छ ।

    विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष गुणराज पौडेलले विद्यालयको पर्खाल नहुँदा असुरक्षा बढेकाले विद्यार्थी घटेको बताउँछन् । ‘यो चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीमा पर्छ । यहाँ दिउँसै गैँडा, बँदेल लगायतका जंगली जनावरहरू आउँछन्’, पौडेलले भने, ‘विद्यालयमा पर्खाल छैन । जनावर आएर खेल्दै गरेका विद्यार्थीलाई हान्ला भन्ने त्रास छ । जनावरको त्रासका कारण अभिभावकले आफ्ना बालबालिकालाई अन्य विद्यालयमा लगेर पढाउन बाध्य छन् ।’

    विद्यालयको पर्खाल निर्माण तथा भवनहरूको व्यवस्थापनका लागि नगरपालिकासँग कुरा गर्दा सम्बोधन हुन नसकेको पौडेलले बताए । विद्यालयको दिवा खाजा कार्यक्रमका संयोजक मङ्गुराम बोटेले विद्यालयमा बोटे समुदाय र दलित विद्यार्थीबाहेक अरू विद्यार्थीलाई आकर्षित गर्न नसकिएको बताए ।

    ‘बालविकास केन्द्र (इसीडी) मा अन्य जातजातिका विद्यार्थीहरू आउने गरेका छन् । अर्को वर्षबाट ती विद्यार्थीलाई अन्य विद्यालयमा सारिन्छ’, बोटेले भने, ‘सरकारी विद्यालयमा पढाउनका लागि अभिभावकहरूको इच्छा नै नहुँदा दिवा खाजाले पनि विद्यार्थी रोक्न सकेन ।’

    साबिकको कोल्हुवा गाविस– ९ मा यही एउटा मात्रै विद्यालय रहेको भए पनि नयाँ संरचनाअनुसार वडा नं ३ मा यस विद्यालयबाट तीन किलोमिटरको दूरीमा माध्यमिक विद्यालय रहेको छ । विद्यालयमा थोरै विद्यार्थी रहेका भन्दै स्थानीय तहबाट पनि सहयोग नहुँदा विद्यार्थी संख्या बढाउन नसकिएको प्रअ केसीले बताए ।

    यस विद्यालयमा बालविकास केन्द्र (इसीडी) देखि कक्षा ५ सम्म अध्ययन हुँदै आएको छ । विद्यालयमा छ जना शिक्षक रहेकामा दरबन्दीका दुई, इसीडीका दुई तथा स्थानीय स्रोतबाट दुई शिक्षकले पारिश्रमिक लिँदै आएका केसीले बताए । सांकेतिक तस्बिर 

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology