Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मैले काम गरेका आधारमा चुनाव जित्छु : अर्जुनप्रसाद जोशी [अन्तर्वार्ता]

मैले काम गरेका आधारमा चुनाव जित्छु : अर्जुनप्रसाद जोशी [अन्तर्वार्ता]

  • 343
    SHARES
  • मैले काम गरेका आधारमा चुनाव जित्छु : अर्जुनप्रसाद जोशी [अन्तर्वार्ता]

    २०५६ सालको संसदीय निर्वाचन,  २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वतबाट विजयीको ‘हृयाट्रिक’ गरेका कांग्रेस नेता हुन् अर्जुनप्रसाद जोशी । अहिलेसम्म हेभीवेट नेता नपाएको जिल्लाको ट्याग लागेको पर्वतको विकास गर्न भन्दै जोशी, एमाले नेता पदम गिरिसहितका नेता चुनावी मैदानमा छन् ।

    images

    जोशीका लागि यो पटक भने गठबन्धनको भरोसा छ । अघिल्लो पटक गिरिसँग रहेको माओवादी यो पटक जोशीको साथमा छ  । अझै साथमा छ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी पनि । सत्ता गठबन्धनको बलमा उनी गिरिसँग पराजयको बदला लिन चाहन्छन्, यो पटक । चुनावी चटारोका समयमा हामीले नेता जोशीलाई तपाईंले जित्छु भन्ने आधारहरू के–के छन् भनेर सोधेका छौँ । 

    चुनावको मिति नजिकिँदै गएको छ, ढुकढुकी कत्तिको बढेको छ ?

    सुन्दर नगरी पर्वतको उकालीओराली अनि घर दैलोमा ढुकढुकी पुरै बढेको छ । ढुकढुकीसँगै हामीले जनताको शुभेच्छा लिइरहेका छौँ । जसका कारण चुनाव जित्नेमा ढुक्क छौँ ।

    पर्वतबाट निर्वाचित भएर ‘हृयाट्रिक’ गर्नुभएको  तपाईंलाई एमाले नेता पदम गिरिले २०७४ मा पराजित गर्नुभयो । गिरिसँगको यो प्रतिस्पर्धाका कारण ढुकढुकी कति बढेको छ भनेको ?

    त्यतिबेलाको गठबन्धन र पदमलाई जिताउने शक्ति माओवादी र गठबन्धन अहिले हामी एकै ठाउँमा छौँ । जुन शक्तिको मद्दतले त्यतिबेला गिरिले जित्नुभयो, अहिले माओवादी र एकिकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन हामी एकै ठाउँमा भएका कारण नतिजा हाम्रै पक्षमा आउने पक्का छ । पर्वतमा एमाले एक्लो भएका कारण मैले चुनाव जित्छु भन्ने कुरामा पूर्ण विश्वस्त छु । 

    घरदैलोमा मतदातासँगको भेटघाटमा के पाउनुभयो  ?

    अहिले पनि घरदैलोमा नै छु । घरदैलोमा एकदम भरोसा, विश्वास पाएको छु । यो गठबन्धनले संविधानको रक्षा गर्छ, विकास गर्छ, समृद्धि ल्याउँछ भन्ने कुरा हामीले जनतामा राखेका छौँ । जनता सकारात्मक हुनुहुन्छ । मैले विगतमा  गरेको कामलाई जनताले अहिले पनि सम्झिरहन्छन् । अझै बाँकी रहेका र ठूला कामहरू म आएपछि फेरि गर्नुछ ।

    २०५६, २०६४ र २०७० को जित र २०७४ को पराजयबाट कस्तो पाठ सिक्नु भएको छ ?

    २०५६, २०६४ र २०७० मा मैले पर्वतमा विकासको एकखालको लहर चलाएँ । तर,  २०७४ को पराजयलाई मैले गम्भीर भएर समीक्षा गरेको छु । हिजो के कस्ता कमिकमजोरीहरू भए भन्ने कुरालाई सुधार गरेर मैले जानुपर्ने महसुस गरेको छु ।

    यहाँले अघिल्लो पटक पनि कुश्मा ज्ञादी जोड्ने मोटरेवल पुलका लागि पहल गर्छु भन्नुभएको थियो, यसपटक उक्त विषय यहाँको नजरमा छ कि छैन ?

    मोदी खोलामाथिको पक्की पुल पर्वतवासीका लागि अत्यावश्यक छ । जसको निर्माणले कुश्मा नगरपालिकाको समृद्धि र विकासका लागि ठूलो टेवा पुग्ने भएकाले हामीले उक्त पुल निर्माणमा  पूर्ण रूपमा पहल गनेछौँ ।

    तीनपटक चुनाव जित्दा पनि मन्त्री बन्ने अवसर पाउनुभएन  ? यसपटक गठबन्धनको बलमा बाजी मार्ने र मन्त्री बन्ने सपना होला ?

    गठबन्धन नै मैले चुनाव जित्ने मुख्य आधार नै भइहाल्यो, त्यसमा कुनै शंका नै रहेन । संसदीय राजनीति, केन्द्रीय राजनीतिमा लामो अनुभवका कारण मलाई अहिले पार्टीले नै उठाएर म चुनाव लडेको हुँ । मलाई मन्त्री बनाउने नबनाउने भन्ने इच्छा पार्टीको हो । पार्टीले अवसर दिएको खण्डमा भोलिका दिनमा म मन्त्री बन्न सक्छु ।

    अर्को पटक पनि चुनाव लड्ने इच्छा छ कि यही अन्तिम हो  ? 

    राजनीतिमा इच्छा आकांक्षा भन्ने कुरा पहिलो र अन्तिम नहुने रहेछ । मैले अघिल्लो पटक नै युवाहरूलाई अवसर दिनुपर्छ भनेको हो । तर, अहिले पार्टी र गठबन्धनले नै मलाई रोजेका कारण म उम्मेदवार बनेको हुँ । आगामी दिनमा मेरो पहल युवा राजनीतिज्ञलाई ल्याउनुपर्छ भन्ने नै पहल हुनेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology