काभ्रेपलाञ्चोक । मध्यपहाडी क्षेत्रबाट बिपी राजमार्ग प्रयोग गरी हुँदै आएको प्रतिबन्धित लागुऔषध तस्करी रोकिएको छैन । छिमेकी पूर्वी-तराई क्षेत्रबाट शृङ्खलाबद्ध रुपमा हुँदै आएको तस्करीका केही घटनामा मात्रै प्रहरी सफल भएको पाइएको छ ।
गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुङ्गा नगरपालिका-१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरीले पक्राउ ग¥यो । उनको साथबाट प्रहरीले विभिन्न थरिका ७४५ प्रतिबन्धित लागुऔषधका क्याप्सुल बरामद गरेको थियो । प्रहरीले रामको जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको जनाएको छ ।
एक महिनाअघि अर्थात् गत माघ १२ गते प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुई जनालाई बिपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्गलटारले नै पक्राउ ग¥यो । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका-३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरी धरान उपमहानगरपालिका–२ का २७ वर्षीय अजित कामतलाई पूर्वबाट बिपी राजमार्ग हुँदै काठमाडौँ आइरहेको अवस्थामा मङ्गलटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुका साथबाट ‘नाइट्राभेट–१०’ नामक लागुऔषध २८ पत्ता (८४० ट्याब्लेट), डाइजापान इन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान, फोनारागन १० थान बरामद भएको प्रहरीले जनाएको छ । गत वर्ष फागुन दोस्रो सातायता कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष कुनै लागुऔषध तस्करीका घटना बाहिर आएनन् । घटनाक्रमले गत माघदेखि प्रतिबन्धित लागुऔषध तस्कर पुनः सक्रिय भएको देखाएको छ । यी दुई घटनामा तस्करले लागुऔषध काठमाडौँ लैजान लागेको बयान दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रतिबन्धित लागुऔषध कारोवारीको निगरानी÷खोजीकार्य तीव्ररूपमा गरिएको बताए । ‘घटनाले एक वर्षपछि प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय भएको पाइयो, हामी विशेष निगरानीमा छौँ’, उनले भने ।
घटना विवरणअनुसार प्रहरीले गत वर्ष फागुन दोस्रो साता पनौती नगरपालिका-६ स्थित एक घरमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा तिमल्सिनाको कोठाबाट लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो ।
त्यसको केही महिनाअघि विराटनगरबाट बिपी राजमार्ग हुँदै बनेपा आउँदै गरेको गाडीमा खानतलासी गर्दा सुनसरी र भारतको कानपुरस्थित युपीका दुई युवालाई लागुऔषध ‘नाइट्राभेट–१०’ ७५० चक्कीसहित पक्राउ गरी लागुऔषध ऐन-२०३३ अनुसार मुद्दा चलाएको थियो ।
सोही हप्ता आसपास इलाका प्रहरी कार्यालय बनेपाले पनि सुराकीकै आधारमा नाइट्राभेट-१० नामक औषधिको १५७ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट विभिन्न मितिमा १३ युवालाई पक्राउ गरी मुद्दा चलायो । प्रहरीले ती घटनामा सुराकीका भरमा मात्रै जाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइयो ।
प्रहरीको प्रतिवेदनमा बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिवास) बाट लागुऔषध ओसारपसार हुने गरेको उल्लेख गरिएको छ । प्रहरीको तथ्याङ्कअनुसार विशेषगरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोगकर्ताका रूपमा देखिएको छ । एक वर्षपछि मात्रै लागुऔषध बरामद हुनुले प्रहरीले नियमित सवारी जाँचमा सक्रिय नभएकाले कारोवार फस्टाउँदै गएको आशङ्कासमेत पैदा भएको छ ।
पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रूपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइएको जिल्ला प्रहरी प्रमुख खत्रीले बताए । यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी जिल्लाको मुख्य व्यापारिक केन्द्र बनेपा र आसपासका शहर तथा काठमाडौँमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेषगरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर/क्यारिङ’ बनेर काम गरिरहेको बयान दिएका छन् ।
प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट प्रतिचक्की रु एक हजारदेखि एक हजार ५०० सम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट-१० नेपालमा केही वर्षदेखि प्रतिबन्धित औषधि हो । प्रहरीको तथ्याङ्कअनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३५ मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ६४ जना पक्राउ परेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij