वेबटिभी खबर
काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढेसँगै अस्पतालमा देखिएको रगतको चरम अभाव पूर्तिका लागि तीन संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अटो नेपाल, सहयोगी महिला जागरण मञ्च र लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्डको संयुक्त आयोजनामा शनिबार रातोपुलमा कार्यक्रम सम्पन्न भएको हो ।
पुरुष भन्दा महिला रक्तदाताको संख्या बढी देखिएको उक्त कार्यक्रममा अनलाइन, टेलिभिजन र प्रिन्ट मिडियाका ११ जना पत्रकारलेसमेत रक्तदान गरेका छन् । करिब २ घण्टा चलेको कार्यक्रममा २३ पिन्ट रगत जम्मा गरिएको लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्डसका अध्यक्ष भुषणकुमार श्रेष्ठले बताए ।
नेपाल रेडक्रस सोसाइटीले सामान्य गर्भवती महिला र अप्रेसन गर्नुपर्ने बिरामीकालागि आवश्यक रगत अभावले अप्रेसन हुन नसकेको बताएपछि निषेधाज्ञाकैबीच आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
‘सम्भव भएसम्म दुई-दुई हप्तामा हामी रगत संकलन गरेर रेडक्रसलाई बुझाउने छौं । निषेधाज्ञाकाबीच हामी बाहिर निस्कन सक्ने अवस्थामा छैनौं । तर आकस्मिक अवस्थामा जीवनरक्षाका लागि सबै सहयोग गर्न तयार छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर फेरि पनि रक्तदान कार्याक्रम आयोजना गरिने छ ।’
सामाजिक सञ्जाल फेसबुकमा राखेको सुचनालाई हेरेर फोन सम्पर्कसमेत गर्दै बुढानिलकण्ठदेखि भक्तपुरसम्मका रक्तदाता उपस्थित भई कार्यक्रम सफल बनाइदिएकोमा आयोजकका तर्फबाट श्रेष्ठले उनीहरुप्रति धन्यवाद व्यक्त गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij