वेबटिभी खबर
बझाङ । खप्तडछान्ना गाउँपालिका-५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उनले हलो नसमात्ने अडान नै लिएका छन् । गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्रयाक्टरले जोतेर घर फर्कनु आनन्द भएको उनले बताए ।
‘कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्रयाक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन’, गिरीले भने, ‘गोरु जोतेरै बूढो भइसके । मेरै घरमा दर्जनभन्दा बढी हल गोरु फेरबदल भए तर, कहिल्यै समयमा काम सकिएन । न त सोचेजस्तो काममा रहर नै लाग्यो । अहिले ट्रयाक्टरले धेरै सजिलो भएको छ ।’
गिरीका अनुसार अहिले हाते ट्रयाक्टरले १० दिनमा हुने काम एकै दिनमा हुने गर्छ । छिटो पनि हुने, सजिलो पनि हुने हुँदा अहिले कृषकका लागि ट्रयाक्टर विकल्प भएको उनको भनाइ छ ।
तीन वर्षअघि जयपृथ्वी नगरपालिका-९ का यादवी जोशीको घरमा भर्खर किनेका एक हल गोरु थिए । चरिचराउन गर्न वन नभएको हुँदा उनी असार र मंसिरबाहेक बाँकी समय पल्लो गाउँ गोरु चरिचराउनका लागि जाने गरेका थिए ।
उनको घरमा गोरु भएपछि छिमेकीले समेत खेत जोत्ने मौका पाउँथे । घरमा ल्याएपछि दुई महिना गोरु दैनिकजसो जोतिन्थ्यो । पानी नलाग्ने ठाउँमा त कहिल्यै महिनासमेत कुर्नुपर्दथ्यो । गोरु जोत्ने बेलामा ठूला खेतमा दुई हल गोरुसहित दुई दर्जनभन्दा बढी खेतालाको काम हुन्थ्यो ।
गत मंसिरमा एक जना आफन्तले हाते ट्रयाक्टर किनेर ल्याए । यसले उनले आफ्नो खेती मात्रै नभई तीन/चार जना छिमेकीकै खेत जोते । त्यो देखेर उनको परिवारले पनि गोरुको ठाउँमा ट्रयाक्टर नै राख्ने सोच बनायो ।
किनेका गोरु बिक्री गर्न खोजे पनि किन्ने मान्छे नै भेटिएनन् । पछि अर्कै पालिकाका मान्छेलाई उनको परिवारले सित्तैमा एक हल गोरु दिए । ट्रयाक्टर ल्याइसकेपछि भने थोरै जनशक्तिमा पनि धेरै काम, छिटो हुन थालेको उनको अनुभव छ ।
जयपृथ्वी नगरपालिका-९ पिठालेखकी सीता थापाले पनि तीन वर्ष अगाडि हाते ट्रयाक्टर किनिन् । गोठमा भएका गोरुलाई बेचेर कृषिको अनुदानसहित ७० हजारमा ट्रयाक्टर किनेकी हुन् ।
रोपाइँ गर्न महिनाभरि लाग्ने खेतमा ट्रयाक्टरपछि हप्ता दिनमै सकिन थाल्यो । अहिले उनी ट्रयाक्टरमा डिजेल भर्ने र केही रकम लिएर छिमेकीको खेत जोत्ने गरेको बताउँछिन् ।
उनको देवलको खेतमा पहिले दुई दिन गोरु जोत्नै लाग्थ्यो । बीस जनाले रोपाइँ गर्थे । गहुँको सिजनमा पनि दुई दर्जन मान्छे चाहिन्थे । हलीसहित सात/आठ जना पुरुषले बिहानैदेखि खट्नुपर्थ्यो ।
आजभोलि भने तीन/चार घण्टामै काम सकिने गरेको छ । ‘आज पनि हामी दुई जना मात्रै थियौँ । तीन घण्टामै जोतेर सकियो । रोपाइँको दिनमा पनि थोरै मान्छे भए नी पुग्छ ।’ उनले भनिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij