वेबटिभी खबर
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लग्न रोक लगाएको छ । आयोगले मंगलबार मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा ४ बुँदे निर्देशन जारी गरेको छ ।
‘मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, क्यामेरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका-२०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराइ सार्वजनिक आह्वान र अनुरोध गर्ने’ विषय आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिइ आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्नसमेत आयोगले भनेको छ । सलाई, लाइटर, क्यामेरा, मोबाइलजस्ता वस्तु लिइ आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिने विज्ञप्तिमा उल्लेख छ ।
कसैले क्यामेरा वा मोबाइल आफ्नो साथमा लगी मतसंकेत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामेरा वा मोबाइल जफत हुने आयोगले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका-२०७९, निर्वाचन आचारसंहिता-२०७९ विपरीत कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानून बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउनसमेत आयोगले निर्देशन दिएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij