Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

पार्टी र गठबन्धन दलबाट साथ पाएकाले सहजै चुनाव जित्छु : नरेन्द्र साह [अन्तर्वार्ता]

पार्टी र गठबन्धन दलबाट साथ पाएकाले सहजै चुनाव जित्छु : नरेन्द्र साह [अन्तर्वार्ता]

  • 1.3K
    SHARES
  • पार्टी र गठबन्धन दलबाट साथ पाएकाले सहजै चुनाव जित्छु : नरेन्द्र साह [अन्तर्वार्ता]

    आशन्न ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–३ मा वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका नेता नरेन्द्र साह उम्मेदवार हुन् । समाजसेवाबाट राजनीतिमा होमिएका साहले जिल्लामा असल र परोपकारी व्यक्तित्वको छवि बनाएका छन् । साह २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन तराई–मधेस समाजवादी पार्टीबाट समानुपातिक सांसदसमेत हुन् । २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका साहले १२ हजार ८६ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरे । स्वतन्त्रबाटै उम्मेदवारी दिँदा लोकप्रिय मत हासिल गरेका साहसँग घरदैलोकै क्रममा गरिएको कुराकानीको सम्पादित अंश :

    images

    घरदैलोमा मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

    निकै उत्साहजनक माहोल छ । चुनावी अभियानका क्रममा हरेक ठाउँ पुग्दा राम्रो प्रतिक्रिया पाइरहेको छु । जनतामा एक प्रकारको आशा र उत्साह छाएको छ । जनताले काम गर्ने, विकासप्रेमी, चुनाव जितेपछि आफ्नो क्षेत्रका लागि काम गर्ने, जनताको सुख–दुःखमा साथ सहयोग गर्ने जनप्रतिनिधि खोजिरहेका छन् । जनताका अपेक्षा, आशा र भरोसा भएको पाएको छु । हरेक वडा, गाउँ र बस्तीमा पुग्दा एकदमै सकारात्मक प्रतिक्रिया पाएको छु । विगतका चुनावभन्दा यसपालि माहोल अलि फरक छ । यसपटक वाम लोकतान्त्रिक गठबन्धन देशभर एकढिक्का भएर चुनावमा होमिएको छ । यो जितले स्थायी सरकार बनाउन भूमिका खेल्नेछ । जनताका समस्या, आवश्यकता पूरा गर्न अब बन्ने स्थायी सरकारको उच्च प्राथमिकता हुनेछ ।

    तपाईंसँग सर्लाही ३ का लागि विकासका योजना र एजेन्डा के–के छन् ?

    शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास मेरो मुख्य प्राथमिकतामा पर्छ । सुविधा सम्पन्न अस्पताल, पक्की बाटो, गुणस्तरीय शिक्षा र सुविधायुक्त विद्यालयको व्यवस्था यहाँ हुनेछ । यस क्षेत्रका दलित, भूमिहीन, सुकुम्बासीको उत्थानका लागि हामीले योगदान दिनेछौं । यस क्षेत्रमा लालपुर्जा नभएका सुकुम्बासीको संख्या बढी छ । उनीहरूलाई लालपुर्जा दिलाउने छौं । २०२२ सालभन्दा पहिले रौतहट र महोत्तरीको केही भागलाई मिलाएर यो जिल्ला बनेको हो । त्यसपछि यसलाई सर्लाही जिल्ला नामाकरण गरियो ।

    मेरो घर बरहथवा नगरपालिकाभित्र पर्छ । मेरो घर पनि ऐलानी जग्गामा छ । हिजो जंगलमा बसोबास गर्ने सुकुम्बासीहरू अझै पनि हुनुहुन्छ । कतिपय लालपुर्जा पाउने प्रक्रियामा हुनुहुन्छ । त्यसका लागि आयोग बनेको छ । मैले चुनाव जितेमा सर्लाही ३ लाई नमुना बनाउनेछु । यो क्षेत्र पर्यटन विकासका लागि एकदमै सम्भावना भएको ठाउँ हो । मेरो प्रयत्न यो क्षेत्रलाई पर्यटनको प्रमुख गन्तव्य बनाउनमा केन्द्रित हुन्छ । नरेन्द्र साह बोलेर भन्दा काम गरेर देखाउने व्यक्ति हो ।

    यसपालिको चुनावमा तपाईंको जितका आधार के हुन् ? जनतालाई कसरी आश्वस्त पार्नुहुन्छ ?

    पहिलो त वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट म साझा उम्मेदवारका रूपमा चुनाव लड्दैछु । यो गठबन्धनको अत्यधिक मत भएको क्षेत्र भएकाले पनि भारी मतले जित्नेमा ढुक्क छु । त्यसबाहेक मैले विगतमा गरेका काम, जनतालाई प्रदान गरेको सेवा र योगदानलाई यहाँका मतदाताले बिर्सनु भएको छैन । विगतको चुनावमा स्वतन्त्र उम्मेदवार भएर हारे पनि म कहिल्यै जनतासँग टाढा भइनँ । जनतासँग निरन्तर जोडिएको छु । जनस्तरमा मेरो सम्पर्क टुटेको छैन । त्यसले गर्दा पनि मलाई सजिलो भयो ।

    विगतमा तपाईंले यो क्षेत्रमा के के गर्नुभयो ?

    सर्लाही ३ का विभिन्न क्षेत्र, समुदायमा मैले आफ्नोतर्फबाट योगदान दिएको छु । बाटोघाटो निर्माण, खानेपानीको समस्या समाधान, जाडोमा विपन्नलाई कम्बल वितरण, न्यानो कपडा वितरण, अभाव र समस्याग्रस्त मानिसलाई खाद्यान्न वितरण गरेको छु । कोरोना महामारीले सिर्जना गरेको कहालीलाग्दो अवस्थामा बरहथवा र हरिवनमा स्यानिटाइजर बुथको निर्माण गरेको छु । यहाँका वृद्धाश्रम र अनाथाश्रमलाई आवश्यक पर्दा सहयोग गरेको छु । स्थानीय क्लबहरूलाई आवश्यक खेलकुदका सामग्री प्रदान गरेको छु । यस क्षेत्रका स्थानीयलाई सोध्नुभयो भने मैले गरेका कामबारे थाहा पाउनु हुनेछ ।

    एमाले–जसपा गठबन्धनले कत्तिको चुनौती थपिएको महसुस गर्नु भएको छ ?

    क्षेत्र नम्बर ३ मा मेरो कसैसँग प्रतिस्पर्धा छैन । हामीलाई कतैबाट चुनौती पनि छैन । म भारी मतका साथ जित्नेमा ढुक्क छु । 

    सर्लाही ३ मा सत्ता गठबन्धनभित्र एकता छैन भन्ने पनि चर्चा छ नि ?

    त्यस्तो होइन । सानातिना मतभेद त आफ्नै दलभित्र पनि हुन्छन् । पाँच दलको गठबन्धन बनेको छ । त्यसमा केही साथीहरूको बुझाइ, मान्यता फरक पर्नु स्वाभाविक हो । सुरुमा सामान्य मतान्तरजस्तो देखिए पनि हामी अहिले एकताबद्ध छौं । सत्ता गठबन्धनलाई जिताउन गठबन्धनका सबै साथी, नेताहरू प्रतिबद्ध हुनुहुन्छ ।

    अघिल्लोपटक स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लड्नुभयो । यसपटक वाम–लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्दै हुनुहुन्छ । कस्तो अनुभव भइरहेको छ ?

    पार्टीबाट चुनाव लड्न अलि सजिलो लाग्यो । पार्टीबाट लड्दा प्रचार–प्रसार गर्न पनि सजिलो हुने रहेछ । पार्टीको सञ्जालका कारण स्वतः सहज हुने नै भयो । मलाई विगतमा मत दिने जनताले पनि पार्टीबाट चुनाव लड्न आउनुस् भनेर सल्लाह दिनुभयो । यो क्षेत्र गठबन्धनबाट माओवादी केन्द्रको भागमा पर्यो । मलाई पार्टीले पत्याएर टिकट दिएको हो । पार्टीका साथीहरू, सहयात्री गठबन्धन दलका साथीहरू सबैबाट राम्रो सहयोग पाइरहेको छु ।

    प्रायः उम्मेदवारहरू जितेर गएपछि आफ्नो क्षेत्रमा फर्किदैनन् भन्ने गुनासो जताततै सुनिन्छ । फोनसमेत उठाउँदैनन् भन्ने पनि गुनासो आउने गरेको छ । यदि तपाईंले चुनाव जितेमा के गर्नुहुन्छ ?

    यो प्रश्न यसअघि जो निर्वाचित भएर गए उहाँहरूलाई सोध्दा उचित हुन्छ । यहाँबाट जितेर गएकाहरू मन्त्री पनि बन्नुभयो । तर जिल्लाका लागि उहाँहरूले के गर्नुभयो त ? गएको चुनावमा हारेपनि मैले यस क्षेत्रमा गरेका काम जगजाहेर नै छन् । जुनसुकै अवस्थामा पनि आफूलाई मत दिएर जिताउने मतदाता र क्षेत्रबाट टाढा हुनु हुँदैन भन्ने मेरो मान्यता हो । जनतासँग म कहिल्यै पनि टाढा हुन सक्दिनँ । मेरो स्वभाव जनतासँग घुलमिल भएर बस्ने खालको हो ।

    म व्यस्त हुँदा पनि सकैसम्म सबै फोन आफैं उठाउने गर्छु । यदि फोन उठाउन नसक्ने अवस्था भएमा कल ब्याक गर्ने मेरो बानी नै छ । चुनाव जितेपछि जनता बिर्सने बानी राम्रो होइन । म कुनै हालतमा त्यस्तो गुनासो आउन दिने छैन । यो क्षेत्रका सबै जनतासँग मेरो प्रतिबद्धता हो । चुनावका बेला विपक्षीहरूले अनेक आरोप लगाउँछन् । चुनावमा बलियो उम्मेदवारको विरोध हुने परम्परा पनि छ । तर मेरो हकमा मिथ्या आरोपको कुनै अर्थ छैन । यहाँका मतदाताले मलाई राम्रोसँग चिन्नु भएको छ । मेरो बारेमा चुरे पहाडदेखि दक्षिणसम्मका मतदातासँग तपाईं सोध्न सक्नुहुन्छ । सबैले मलाई उत्तिकै माया गर्नुहुन्छ । जनतालाई ढाँटेर, अल्मल्याएर गरिने राजनीतिक दिगो हुँदैन । म जनतालाई झुक्याएर हैन, जनताको मन जितेर राजनीति गर्छु । यसमा ढुक्क हुनुहोस् ।

    आफ्ना मतदातालाई के भन्न चाहनु हुन्छ ?

    मेरो एउटै अपिल छ, मंसिर ४ को चुनावले पाँच वर्षका लागि भाग्य कोर्ने हो । त्यसैले अहिले जनताले जिम्मेवार भएर आफ्नो जनप्रतिनिधि चयन गर्नुपर्छ । त्यसैले गठबन्धनलाई जिताउन म अपिल गर्न चाहन्छु । विगतमा जितेका उम्मेदवारबाट यो क्षेत्रको विकास हुन नसकेको हामीसामु टड्कारो छ ।

    मलाई जिताउँदा विकास गरेर क्षेत्रकै मुहार फेर्नेछु । म पदमा नरहँदा पनि यो क्षेत्रको विकास र जनताको दुःख, पीडामा साथ दिएको व्यक्ति हुँ । संसद्मा पुगेपछि काम गर्ने दायरा फराकिलो हुने र धेरै काम गर्न सकिने हुन्छ । म  यति भन्न चाहन्छु कि मलाई मत दिएर जिताउनुहोस्, म यो क्षेत्र र आमजनताको समस्या समाधान गर्न सधैं साथमा हुनेछु ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology