Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

नागरिकता नहुँदा जो आफ्नो प्रतिनिधि चुन्न पाउँदैनन्

नागरिकता नहुँदा जो आफ्नो प्रतिनिधि चुन्न पाउँदैनन्

  • 386
    SHARES
  • नागरिकता नहुँदा जो आफ्नो प्रतिनिधि चुन्न पाउँदैनन्

    जनकपुर । देश चुनावमय छ । देशलाई नीति र नेतृत्व दिने प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधि चुन्ने र चुनिने चटारो सबैलाई छ । तर जनकपुरधाम उपमहानगरपालिका–४ बतिमपुरका अनुराज झा (२१) लाई आफ्नो प्रतिनिधि छान्न नपाउने भएपछि चुनावले छोएको छैन ।

    images

    अनुराज पढेका छन्, केही गर्ने हुटहुटी छ । अन्यायविरूद्ध बोल्ने र सामाजिक रूपान्तरणका आन्दोलनहरूमा अगाडि देखिन रूचाउने स्वभाव छ । यसैकारण उनले प्रहरीबाट पिटाइ मात्रै होइन गिरफ्तारीसमेत दिएका छन् । अरू बेला र अरू मुद्दामा सधैं सक्रिय रहने अनुराज निर्वाचनको बेला भने कहिल्यै अगाडि आउँदैनन् ।

    सामाजिक रूपान्तरणका आन्दोलनमा सधैं अगाडि देखिन रूचाउने गणेशमान चारनाथ नगरपालिका–३ भरतपुर, धनुषाका इन्द्रजित साफी (२९) ले पनि यस्तै स्वभावका कारण आन्दोलनका क्रममा कैयन पटक गिरफ्तारी दिएका छन् । तर उनी पनि चुनाव आयो कि सधैं उत्साहित होइन निराश हुन्छन् ।  

    अनुराज र इन्द्रजित मात्रै होइन जीतपुर सिमरा उपमहानगरपालिका–७, रामटोल बाराका राहुल गुप्ता (२१) पनि चुनावको बेला सधैं तनाव हुने गरेको बताउँछन् । यतिबेला अधिकांश युवालाई चुनाव लागेको छ । कोही उम्मेदवार छन् त कोही चुनावी प्रचारमा होमिएका छन् । तर गुप्ता भने चुनाव छोडेर भारत पुगेका छन् ।

    धेरैले प्रश्न गर्नुहोला, सधैं सक्रिय रहने उनीहरू किन निर्वाचनजस्तो महाउत्सवमा पनि सक्रिय र उत्साहित हुँदैनन् ? त्यही प्रश्न मैले पनि पनि गरेँ । जवाफ आयो, ‘हामी न आफ्नो प्रतिनिधि चुन्न पाउँछौं न त चुनिन, त्यसैले ।’

    फेरि तपाईं सोच्दै हुनुहुन्छ होला उमेर, चाहना र क्षमताका कारण योग्य नभएर होला । अहँ ! उनीहरू सबैले नेता चुन्न निर्वाचन कानुनले तोकेको (१८ वर्ष) र उम्मेदवार बन्न आवश्यक उमेर (स्थानीय तहमा २१, प्रतिनिधि र प्रदेशसभामा २५ वर्ष) पार गरिसकेका छन् । अनि कारण के हो त ? फेरि जवाफ आयो, ‘नागरिकताविहीनता ।’

    नेपालको संविधान र निर्वाचन कानुनअनुसार मताधिकार प्रयोग गर्न मतदाता नामावली र मतदाता नामावलीका लागि नागरिकताको प्रमाणपत्र अनिवार्य छ । हो, नागरिकताविहीन भएकै कारण अनुराज, इन्द्रजित र राहुलजस्ता लाखौं नागरिकले यो समस्या भोग्दै आएका छन् ।

    ‘हामी चार पुस्तादेखि नेपालमै छौँ । मेरो बुबाले जन्मसिद्ध नागरिकता र आमाले वंशजको नागरिकता लिनुभएको छ । आमाको नामबाट नागरिकता बन्दैन, बुबा जन्मसिद्ध नागरिक भएकाले सरकारले नागरिकता दिन मिल्दैन भन्छ । त्यसैले हामी चारजना (अ) नागरिक भाइबहिनीले आफ्नो प्रतिनिधि चुन्न पाउँदैनौँ’,अनुपराजले दुःखेसो पोखे ।

    इन्द्रजित नागरिकताविहीन संघर्ष समिति नेपालका राष्ट्रिय अध्यक्ष हुन् । पढाइले  इन्जिनियर । सामाजिक मुद्दामा खरो बोल्छन् । नागरिकताविहीनहरूको अधिकारका बारेमा संगठित रूपमा बोल्न २०७८ सालमा उनकै नेतृत्वमा संघर्ष समिति बनाइएको छ ।

    ‘नागरिकता छैन । सक्षम भएर पनि केही गर्न पाउँदैनौं । संविधानअनुसार नागरिकता ऐन अद्यावधिक नगरी लाखौं नागरिकको जिन्दगीसँग खेलबाड भएको छ’, साफीले भने,‘यो देशमा जन्मिएर के अपराध गरेका छौँ ? किन आफ्नो प्रतिनिधि चुन्नबाट वञ्चित गराइरहेको छ राज्यले ? कसले बुझ्छ राज्यविहीन हुनुको हाम्रो पीडा ।’

    ‘साथीसँगी चुनावी प्रचार र आफ्नो प्रतिनिधि छान्न उत्साहित छन् । त्यो देखेर मन बहलाउँछ, खिन्न हुन्छु’, राहुल भन्छन्, ‘नेता चुन्न नै नपाएपछि दोस्रो दर्जाको नागरिक हुँ कि भनेर हीनताबोध हुन्छ । त्यसैले घर छोडेर भारत हिँडेको हुँ ।’

    उनले आफ्नो भविष्य निर्माण गर्दा खाएको हन्डरभन्दा देशको भविष्य निर्माण गर्ने आफ्नो प्रतिनिधि चुन्न नपाएकामा पछुतो रहेको बताए । राहुलले रामटोलमा मात्रै पाँच सयभन्दा बढी नागरिक मतदानबाट वञ्चित हुनुपरेको उल्लेख गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology