Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

सुन्तला उत्पादनमा वृद्धि

सुन्तला उत्पादनमा वृद्धि

  • 365
    SHARES
  • सुन्तला उत्पादनमा वृद्धि

    तनहुँ । यस वर्ष तनहुँ जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ । फूल फुल्ने र दाना लागिसकेपछि असिना नपरेकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको हो।

    images

    ‘गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ । तनहुँ सुन्तला उत्पादनमा आत्मनिर्भर पनि छ । यहाँ उत्पादित सुन्तला प्रायःजसो देशका ठूला शहरमा बिक्री वितरण हुन्छ’, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले भने, ‘कहीँ उत्पादन बढेको र कहीँ घटेको अवस्था छ । समग्रमा जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ ।’

    उत्पादनको क्षेत्रफल भने घटेको तर उत्पादन वृद्धि भएको प्रमुख तिवारीले बताए । ‘यस वर्ष करिब ३० प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ । फल्ने क्षेत्रफल घटेको छ’, तिवारीले भने ।

    गत वर्ष जिल्लामा एक हजार छ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो । उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

    यस वर्ष फल्ने क्षेत्रफल घटेर एक हजार चार सय ८० हेक्टरमा सुन्तला खेती गरिएको छ । उक्त क्षेत्रफलमा नौ हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष कुल २७ करोडको सुन्तला बिक्री वितरण हुने अपेक्षा गरिएको छ ।

    जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका स्थानमा निर्यात गरिन्छ । सुन्तला निर्यातले जिल्लामा आयस्रोतमा थप सहयोग पुगेको प्रमुख तिवारीको भनाइ छ ।

    व्यास नगरपालिका-१३ बेनीकोटका किसान खेमबहादुर रानाले यस वर्ष एकतिहाइ सुन्तला उत्पादनमा वृद्धि भएको बताए । सुन्तलाको दाना ठूला भएकाले ग्राहकले खरिद गर्दा माग गरिएको रकम दिन तयार भएको उनले जानकारी दिए ।

    ‘बेनीकोटमा निरन्तर उत्पादन राम्रो हुने हो । यसपटक अझै बढी उत्पादन भएको छ’, किसान रानाले भने । ‘पहिले मलजल, स्याहारसुसारको कमी हुन्थ्यो । अहिले किसान सचेत भएका छन् । राम्रो उत्पादन लिन सुन्तलाको बोटबिरुवालाई सानैदेखि हेरचाह, स्याहारसुसारसँगै मलजल, पानी समयमा पुर्‍याउनुपर्छ भन्ने बुझ्दै आएका छन् ।’

    यस्तै शुक्लागण्डकी नगरपालिका-११ नाम्सीकोटका किसान जगतबहादुर महतले यस वर्ष करिब सात लाख ३० हजारको सुन्तला बिक्री वितरण गरेका छन् ।

    यस क्षेत्रमा सुन्तला उत्पादन वृद्धि भएकाले यहाँका किसानले गत वर्ष चार/पाँच लाख आम्दानीलाई बढाएर सात देखि १० लाखसम्ममा सुन्तलाको बोटबाटै ठेक्कामा बिक्री गरिएको उनले जानकारी दिए ।

    त्यसैगरी देवघाट गाउँपालिका-३ छिपछिपेका किसान पूर्णिमा थापाले देवघाट क्षेत्रमा पनि सुन्तला उत्पादन राम्रो रहेको बताए ।

    ‘पहिलाको वर्षभन्दा यस वर्ष उत्पादन बढ्ने आशा गरेका छौँ । यहाँ उत्पादित सुन्तलाले लोभ्याउनेछ । ठेक्का बिक्री गरेका छौँ । अब केही समयमा यहाँ सुन्तला टिप्न आउनेछन् र लैजान्छन्’, उनले भने ।

    म्याग्दे गाउँपालिका क्षेत्रमा सुन्तला उत्पादन घटेको छ । यस क्षेत्रमा सुन्तलाका दाना कम लाग्नु, सुन्तलाको बोटमा रोग लाग्दा उत्पादनमा कमी आएको किसान विश्वबहादुर अधिकारीले बताए ।

    ‘हामीले जिल्लामा समग्र उत्पादन वृद्धि भएको छ भन्ने कृषि ज्ञान केन्द्रमार्फत सूचना पाएका छौँ । तर म्याग्दे गाउँपालिका-४ उमाचोकमा सुन्तला उत्पादन खस्किएको छ’, अधिकारीले भने, ‘कृषि ज्ञान केन्द्रको सहयोगमा अध्ययन गरी सुन्तलाको बोटबिरूवालाई उचित तत्त्व पुर्याउन समन्वय गरिरहेका छौँ ।’

    तनहुँका सुन्तला पकेट क्षेत्रमध्ये अधिकांश स्थानमा उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रको अनुमान छ । अनुगमन र अध्ययनका क्रममा केही स्थानमा भने सुन्तला उत्पादन खस्किएको पाइएको केन्द्रले जनाएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology