वेबटिभी खबर
पाँचथर । गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका-५ का एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा संक्रमणको सुरुवात खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो ।
स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे टोलका अधिकांश स्थानीयवासीमा ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या देखियो । आइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड-१९ संक्रमण पुष्टि भयो ।
आइतबार आठ जनामा संक्रमण देखिएपछि सोमबार मालबाँसे टोलबाटै नौ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पठाई एन्टिजेन परीक्षण गर्दा आठ जनामा संक्रमण देखियो ।
'गाउँभरिमा १५० भन्दा बढी बिरामी छन् । सबैमा कोभिड-१९ सँग मिल्ने लक्षण देखिएका छन्', स्थानीय दिलकुमार खुदाङले भने, 'निषेधाज्ञाले गर्दा हामीले स्थानीयस्तरबाट मास्क, स्यानिटाइजरको प्रबन्ध गर्न, गम्भीर समस्या भएकालाई अस्पताल पठाउने कामसमेत गर्न सकेका छैनौं ।' कोभिड-१९ सँग लक्षण मिल्ने बिरामी गाउँभरि हुँदासमेत सरकारी निकायले पर्याप्त चासो नदिएको उनको गुनासो छ ।
सोमबार सोही विवाहमा सहभागी भएका हिलिहाङ–३ डाँढे टोलका सात जनामा गरिएको एन्टिजेन परीक्षणमा तीन जनामा कोभिड–१९ पुष्टि भयो । हिलिहाङ–३ का स्थानीयवासीसमेत रहेका गाउँपालिकाका कर्मचारी शम्भुराज पालुङ्वाले भने, 'परीक्षण गराएकाहरुमा संक्रमण पुष्टि भयो ।'
घरैपिच्छे बिरामी भए पनि अधिकांशले घरेलु औषधि र सिटामोल, निम्स, साइनेक्सजस्ता स्थानीयस्तरमा उपलब्ध औषधि सेवन गरिरहेका छन् । हालसम्म कसैलाई पनि गम्भीर समस्या नदेखिएको पालुङ्वाको भनाइ छ । उनीहरु पनि हिलिहाङ–५ को विवाहमा सहभागी भएका कारण त्यहीँबाट संक्रमण भएको स्थानीयवासीको अनुमान छ ।
हिलिहाङ–५ सुभाङमा मात्रै हालसम्म २० जनामा कोरोना सङ्क्रमण देखिएको छ भने गाउँभरि ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग लक्षण मिल्ने बिरामी भेटिएका छन् ।
वडाको मालबाँसे, भालुखोपलगायत टोलका ५५ भन्दा बढी घरमा बिरामी छन् । तर कसैलाई पनि गम्भीर समस्या भने छैन । सोमबार नै हिलिहाङकै वडा नं १ मा पाँचमा संक्रमण देखिएसँगै उक्त गाउँपालिकामा मात्रै संक्रमितको संख्या ३९ पुगेको घिमिरेको भनाइ छ ।
गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले बिरामीको सङ्ख्या बढ्दै गएको भन्दै जटिल बिरामीलाई तत्कालै उद्धार गर्ने प्रबन्ध मिलाइएको बताएका छन् ।
गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा अक्सिजनसहितका १० शय्या तयार पारेको छ । कन्ट्याक्ट टे«ेसिङमा परेका तथा लक्षण देखिएका बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्रमै एन्टिजेन परीक्षण गर्ने प्रबन्ध मिलाइएको अध्यक्ष लिङदेनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij