Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर

धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर

  • 308
    SHARES
  • धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर

    तनहुँ । तनहुँको व्यास नगरपालिका-८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मन पर्दैन ।

    images

    आफ्नै खेतमा उब्जेको धानको भात खाँदै आएका उनी अहिले बजारको चामलको स्वाद मन नपरे पनि खानुपर्ने बाध्यता रहेको बताउँछन् ।

    उनले भने, ‘पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको धानबाट आएको चामलको गुलियोपन छैन ।’ प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने प्रचलन नै हराएको उनले बताए ।

    विगतमा प्राङ्गारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन राम्रो हुनुका साथै स्वादिलो हुने गरेको उनको भनाइ छ । ओझाले भने, ‘ढिँकी, जाँतोमा कुटानीपिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो । अहिले विद्युतीय मेसिनमा कुटानीपिसानी हुँदा स्वाद फरक परेको हो ।’

    अहिले खेतीपाती गर्न खर्चिलो भएको उनले बताए । लगानीअनुसारको प्रतिफल हुन छाडेपछि जग्गा बाँझै राखेर बजारबाट चामलको बोरा ओसार्ने क्रम बढ्दै गएको छ । उनले भने, ‘भकारीको धान निकाल्नु भन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् मानिसहरू । दुःख किन गर्छन् र ?’

    आफ्नै खेतबारीमा उत्पादन भएको धान किनेर खानुपर्ने अवस्था आएको बताउँदै उनले भने, ‘अधियाँ गर्ने मान्छे पाइँदैन । खेत बाँझै रहन्छ । आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट किनेर चामल खानु परेको छ ।’

    विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने उनले केही वर्षदेखि आफूले खेती गर्न नसकेको बताउँछन् । व्यास नगरपालिका-७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको बताए ।

    ‘खेतीपाती गर्न सकिदैन । छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन् । भएको जग्गाजमिन बाँझो छ र किनेर बजारको चामल खानुपर्ने बाध्यता भएको छ,’ शाहीले भने ।

    बजारबाट किनेको चामलको मूल्य भन्दा उत्पादन लागत बढी हुने हुँदा पनि युवा पुस्ताले चासो दिन छाडेको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताए ।

    ‘धान उत्पादन लागत बर्सेनि वृद्धि हुन्छ तर धानको मूल्य वृद्धि नहुँदा धान खेतीमा युवाको चासो छैन,’ उनले भने । जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको छ ।

    चालू आर्थिक वर्षमा तनहुँमा धान उत्पादन वृद्धि हुने भएको छ । धान फुल्ने समयमा वर्षा भएकाले उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । ‘गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरेका छौँ’, उनले भने ।

    गत वर्ष आठ हजार सय २० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३२ हजार आठ सय २४ मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष उत्पादन क्षेत्र केही वृद्धि भएको छ ।

    यसवर्ष आठ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३३ हजार आठ सय ४० मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको तिवारीले बताए । उत्पादन वृद्धि भए पनि पकेट क्षेत्रकै किसानले धान किनेर खानुपर्ने अवस्था रहेको छ ।

    व्यास नगरपालिकाअन्तर्गत साँगेफाँट, रिस्तीफाँट, सेरा, गजौडे, माझफाँट, सिसाघाट, सत्रसय, घाँसीकुवा, भानु नगरपालिकाको चुँदीफाँट, बाइसजागर, आँबुखैरेनी गाउँपालिकाको ढापटार, बन्दीपुर गाउँपालिकाको याम्पाफाँट, सत्रसयफाँट धान उत्पादनको राम्रा क्षेत्र हुन् ।

    त्यस्तै देवघाट गाउँपालिकाको बेटार, म्याग्दे गाउँपालिकाको गुणादी, अकलाफाँट, शुक्लागण्डकी नगरपालिकाको फिर्दीफाँट, क्यान्दीफाँट, मान्द्रेफाँट, भिमाद नगरपालिकाको डुम्रीबेँसी, बुढुवाफाँट, बैडीफाँट, घिरिङ गाउँपालिकाको अत्रौलीफाँट, पुट्टारफाँट, ऋषिङ गाउँपालिकाको पिपलटारफाँटलगायतका क्षेत्रमा धान उत्पादन हुन्छ ।

    धान उत्पादन हुने यी क्षेत्रमा अहिले बस्ती विस्तारसँगै घडेरीका रूपमा खण्डीकरण गर्ने, बाँझो राख्ने क्रमले उत्पादन घट्दै गएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology