वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद सुल्झाउन गठन भएको कार्यदलको बैठक सोमबार अपराह्न तीन बजे बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको अध्यक्ष केपी शर्मा ओलीपक्षका संयोजक तथा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले वेबटिभी खबरलाई जानकारी दिए ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच आइतबार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच-पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो ।
कार्यदलमा अध्यक्ष ओलीपक्षबाट सुवास नेम्वाङको संयोजनमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपालपक्षबाट भीम रावलको संयोजनमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।
वार्ता टोलीलाई २ जेठ ०७५ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ । कार्यदलको बैठक सोमबार नै बस्ने तय भए पनि सबै नेताहरु उपस्थित हुन नसकेपछि स्थगित भएको थियो ।
‘आज मंगलबार बस्ने कार्यदलको बैठक पार्टीमा देखिएका सबै अन्तरविरोध समाधानमा हुनेछ,’ नेम्वाङले भने, ‘बैठकमा को-को नेता उपस्थित हुनुहुन्छ भन्ने केहीबेरमा मात्रै थाहा हुनेछ ।’
कार्यदलका सदस्यमध्ये रावलको स्वास्थ्यमा समस्या देखिएकाले आराम गरिरहेका छन् भने पोखरेल लुम्बिनी प्रदेशसभाको कामले दाङमा व्यस्त छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij