वेबटिभी खबर
वाशिंटन । अमेरिकाका राष्ट्रपति जो बाइडेनले गाजामा इजरायल र प्यालेस्टाइनबीच द्वन्द्वको आठौं दिनपछि युद्धविराम गर्न अपिल गरेका छन् । तर अमेरिकाले पुनः एकपटक हिंसा अन्त्यका लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमार्फत वक्तव्य जारी गर्ने प्रयासमा अवरोध गरेको छ ।
युद्धविरामको अपीलको बाबजुद दुई पक्षबीच हिंसा जारी छ । इजरायलले गाजामा आफ्नो आक्रमणबाट कम्तिमा एक सय ५० विद्रोही मारिएको मंगलबार बताएको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले जारी गरेको विज्ञप्तिका अनुसार बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग गाजामा हिंसा रोक्न इजिप्ट र अन्य देशसँग मिलेर काम गरिरहेको बताएका थिए । बाइडेनले युद्धप्रभावित क्षेत्रका निर्दोष जनताको रक्षाका लागि हरसम्भव प्रयास गर्ने पनि इजरायलसँग भनेका थिए ।
उक्त विज्ञप्तिमा भनिएको छ, 'दुवै नेताहरूले गाजामा हमास र अन्य आतंकवादी संगठनविरुद्ध इजरायलको सैन्य कारबाही बारे छलफल गरे ।'
इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व सुरु भएको दुई साता भइसक्यो तर युद्धविराम हुने सम्भावना भने निकै कम छ । हिंसाका कारण गाजा क्षेत्रमा ६१ बालबालिकासहित दुई सय १२ जनाको मृत्यु भएको छ । इजरायलतर्फ भने मानवीय क्षति कम भएको छ, त्यहाँ दुई बालबालिकासहित १० जना मारिएका छन् ।
इजरायलले गाजामा क्षेत्रमा मारिएका अधिकांश मानिसहरू हमास कट्टरपन्थी हुन् र सामान्य नागरिकको मृत्यु अनजान रहेको छ । अर्कोतर्फ, गाजामा आधारित हमासले इजरायलको दाबी अस्वीकार गरेको छ । अहिले गाजामा भइरहेको रक्तपातले विश्वव्यापी ध्यानाकर्षित गरेको छ ।
अमेरिकाले आफ्ना कूटनीतिक प्रयासहरूको उल्लेख गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई इजरायललाई सैन्य कारबाही रोक्न भनिएको विज्ञप्ति लगातार तीनपटक रोकेको बताएको छ । यसबारे व्हाइट हाउसकी प्रवक्ता जेन साकीले भनेकी छन्, 'पर्दा पछाडि छलफल गर्न सबैभन्दा प्रभावकारी तरीका हुन सक्छ भन्ने हामीलाई लाग्छ ।'
जो बाइडेन परम्परागत रूपमा इजरायललाई समर्थन गर्ने डेमोक्र्याट नेता हुन् । अमेरिकी प्रशासनले इजरायलको समर्थन गर्दै हमासले रोकेट प्रहार गरेपछि आत्मसुरक्षाको अधिकार रहेको यसअघि नै बताएको थियो ।
विश्लेषकहरूका अनुसार प्यालेस्टिनी चरमपन्थीलाई निशाना बनाउने अवसर दिनका लागि सुरूमा अमेरिकी प्रशासनले संयुक्त राष्ट्र संघलगायत अन्य सार्वजनिक फोरममा इजरायललाई आलोचनाबाट बचाउँदै आएको थियो ।
यद्यपि आक्रमणमा नागरिकको मृत्यु हुने संख्या बढ्दै जाँदा अमेरिकाले इजरायलसँग युद्धविराम गर्न अपील गरेको हो ।
संयुक्त राष्ट्र संघले करिब २० लाख जनसंख्या भएको गाजा पट्टीमा युद्धबाट भइरहेको विनाशप्रति चिन्ता व्यक्त गरेको छ । युएनले गाजामा ४० विद्यालय, चार अस्पताल पूर्ण रुपमा नष्ट भएको र त्यस क्षेत्रमा इन्धन आपूर्ति पनि सकिनै लागेको र आधारभूत सेवाहरु बन्द हुने खतरा रहेको बताएको छ ।
विश्व स्वास्थ्य संगठनका आपतकालीन चिफ डाक्टर माइक रायनले स्वास्थ्य प्रणालीमा हुने सबै हमला तत्कालै बन्द गर्न भनेका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इजरायलले सर्वसाधारण नागरिकलाई निशाना बनाउन नहुने भन्दै उनले हमासले आवासीय र सार्वजनिक स्थललाई निशाना बनाएकोमा चिन्ता व्यक्त गरेका छन् । जर्मनी चान्सलर एन्जेला मर्केलले पनि नेतान्याहूसँग कुरा गरेर द्वन्द्व रोक्न अपील गरेकी छन् । यस्तै फ्रान्स, इजिप्टलगायतका देशले पनि युद्धविरामका लागि आग्रह गरेका छन् ।
गाजा पट्टीमा इजरायलको हवाई हमला जारी
इजरायल-प्यालेस्टाइन द्वन्द्वमा ५८ बालबालिकासहित झन्डै २०० को मृत्यु
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij