वेबटिभी खबर
पाँचथर । पाँचथरका दुवै प्रदेशसभा सदस्यतर्फका क्षेत्रमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१)तर्फ नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु विजयी भएका छन् ।
जबेगुले १६ हजार ८३७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार भण्डारीले १६ हजार २०४ मत प्राप्त गरेका थिए । जबेगु एकीकृत समाजवादीको जिल्ला अध्यक्ष तथा भण्डारी एमालेको जिल्ला अध्यक्ष हुन् ।
यस क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरूङले १ हजार ६३४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमनाथ बजगाईँले १ हजार ३२३, जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघाले ९४१, स्वतन्त्र उम्मेदवार सञ्चकुमार केरूङले ६०३, मंगाेल नेशनल अर्गनाइजेशनका मनकुमार गुरूङले ६३९, राप्रपा नेपालका नेत्रकुमार बस्नेतले २४४, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गाप्रसाद साँवाले १४१ र स्वतन्त्र उम्मेदवार इन्दिरा धौरालीले ३१ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा ३९ हजार ९३३ मत खसेकामा १ हजार ३३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै प्रदेशसभा ९२० मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । आङ्बोले १५ हजार ६७२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका अइन्द्रसुन्दर नेम्बाङले १२ हजार ६०५ मत प्राप्त गरेका छन् ।
आङ्बो यसअघि पनि यही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी प्रदेश नं १ सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत हुनुहुन्छ ।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले १ हजार ७६६, जनता समाजवादी पार्टीका एबीराज आङ्देम्बेले १ हजार १७४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपेन्द्र चेम्जोङले १ हजार १२५, राष्ट्रिय जनमुक्ति पार्टीका सूर्यहाङ तुम्बापोले ३७३, मंगाेल नेशनल अर्गनाइजेशनका बलबहादुर बुर्जामगरले २६४ र राप्रपा नेपालका चन्द्रमाया बोहोराले १४८ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा ३४ हजार ४६५ मत खसेकामा १ हजार ३३८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij