Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी नवनिर्वाचित सांसद सीता

चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी नवनिर्वाचित सांसद सीता

  • 443
    SHARES
  • चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी नवनिर्वाचित सांसद सीता

    तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहन्थे । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गरे । उनले छ महिना जति पढिन् । तर एक्कासी सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो ।

    images

    चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा खेल्न थालेपछि सीताले स्टाफ नर्स पढ्न पटक्कै मानिन् र उनी घर फर्किन ।

    प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुमबाट निर्वाचित सीता गुरुङ इवामा जन्मिए पनि उनको प्रारम्भिक शिक्षा ताप्लेजुङको कञ्चनजङ्गा निमावि याम्फुदिनबाट सुरु भएको हो ।

    बुबा पदमबहादुर पञ्चायतकालदेखि नै राजनीतिमा संलग्न थिए । बुबाको राजनीति देखेर सानैदेखि प्रभावित सीता २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष रुपमा संलग्न भए । उनी त्यतिबेला खबर ओसारप्रसारमा संलग्न भएका थिए ।

    वि.सं. २०४६ अघिदेखि नै राजनीतिमा चासो राखेकी सीता त्रिमोहन माध्यमिक विद्यालयमा पढ्दा नेपाल विद्यार्थी संघमा आबद्ध भइन् । उनको औपचारिक राजनीतिक यात्रा यहीँबाट सुरु भएको हो । ‘सानैदेखि समाजमा भएका गतिविधिबाट म प्रभावित भए’, प्रतिनिधिसभा सदस्यमा निर्वाचित सीताले भनिन्, ‘महिला माथिको हिंसा र त्यसको न्याय दिने चलन  पटक्कै मन परेन, त्यसविरुद्ध लाग्ने अठोटका साथ राजनीतिमा उत्रिए ।’

    त्यही अठोटका कारण दोस्रोपटक प्रतिनिधिसभामा पाइला राख्न सफल भएको सीताको ठम्याइ छ । उनको राजनीतिक यात्रा लामो छ । विद्यार्थी राजनीतिमा लाग्दा २०४८ सालमा सीता नेपाल विद्यार्थी संघ तेह्रथुमको सचिव बनिन् । वि.सं. २०५४ मा उनी नेपाल तरुण दलको कोषाध्यक्ष तथा २०५७ सालमा नेपाल महिला संघ तेह्रथुमको अध्यक्ष बनेकी थिइन् ।

    वि.सं २०५८ मा नेपाल महिला संघ केन्द्रीय सदस्य बनेकी सीता २०६० सालमा सचिव बनेकी थिइन् । लगातार पार्टी राजनीतिमा लागेकी उनी २०६२ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०६४ सालमा कांग्रेसको नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य बनिन् ।

    वि.सं. २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा संविधानसभा सदस्य बनेकी सीताले संविधानसभाअन्तर्गतको २०६५ मा राज्यको शासकीयस्वरुप निर्धारण समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको सदस्यका रुपमा भूमिका निर्वाह गरिन् ।

    उनी तेह्रथुमको इतिहासमा फड्को मार्ने महिलामध्येको एउटा हुन् । दोस्रो संविधासभामासमेत प्रतिनिधित्व गर्ने मौका पाएकी सीता संविधान मस्यौदा समिति र राज्य व्यवस्था समितिको सदस्य बनेकी थिइन् ।

    तेह्रथुमको प्रतिनिधित्व गर्दै सीता २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनिन् । उनी २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतले पराजित भएकी थिइन् ।

    दोस्रो प्रयासमा यस पटक नेकपा (एमाले) का विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै सीता संसद्मा प्रवेश गर्दैछिन् । सीताले १९ हजार सात सय दुुई मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार छ सय २३ मत पाएका थिए । वि.सं.२०६७ देखि निरन्तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेकी सीतालाई साहसिक महिलाका रुपमा हेर्ने गरिएको छ ।

    ‘तेह्रथुमको विकास र समृद्धिका लागि लामो समयदेखि भूमिका निभाएकै कारण मलाई जनताले साथ दिएका हुन्’,उनले भनिन्,‘अबका दिनमा जनतालाई हरेक समस्या र परिस्थितिमा साथ दिन्छु’, नवनिर्वाचित सांसद सीताले भनिन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology