Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित

मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित

  • 333
    SHARES
  • मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित

    काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भएका छन्भ ने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ । सबैभन्दा बढी धनुषामा मात्रै ६ जना पूर्वमन्त्री पराजित भएका छन् ।

    images

    धनुषाको क्षेत्रनम्बर-१ मा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता दीपक कार्कीसँग पराजित भएका छन् ।

    २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट यादव २६ हजार ४१८ मत प्राप्त गरि विजयी हुँदा कार्की १७ हजार २९६ मत प्राप्त गरेका थिए । यादव गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका व्यक्ति हुन् ।

    यस्तै धनुषा क्षेत्रनम्बर-२ मा चुनावी प्रतिस्पर्धामा रहेका तीन जना पूर्वमन्त्रीमध्ये पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण यादव निर्वाचित भएका छन् भने पूर्वमन्त्री उमाशंकर अरगरिया र रामचन्द्र झा पराजित भएका छन् ।

    २०७४ सालको निर्वाचनमा अरगरिया निर्वाचन हुँदा झा र यादव पराजित भएका थिए । धनुषा क्षेत्रनम्बर-३ मा पूर्वमन्त्री तथा लोसपा नेता अनिलकुमार झा पराजित भएका छन् ।

    पूर्वमन्त्री तथा नेकपा एमालेका नेत्री जुलीकुमारी महतोसँग झा पराजित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत प्याकुरेलका अनुसार महतोले ३३ हजार ३८८ मत प्राप्त गरिन् भने झाले २३ हजार ६८६ मत ल्याएका थिए ।

    धनुषाको क्षेत्रनम्बर-४ मा पूर्वमन्त्री तथा एमालेका सचिव रघुवीर महासेठ दोस्रो पटक विजयी हुँदा पूर्वमन्त्री तथा कांग्रेसका सहमहामन्त्री महेन्द्रयादव पराजित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महासेठले यादवलाई १४२ मतान्तरले पराजित गरेका हुन् ।

    महासेठले ३२ हजार २३६ मत ल्याएर निर्वाचित हुदाँ यादवले ३२ हजार ११२ मत प्राप्त गरेका थिए । सोही क्षेत्रको प्रदेशसभामा चुनाव लडेका पूर्वराज्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता सत्रुधनप्रसाद महतो पनि एमालेका नेता हरिनारायण महतोसँग पराजित भएका छन् ।

    धनुषामा ६ जना पूर्वमन्त्री पराजित हुँदा छिमेकी जिल्ला सिराहामा पनि चारजना पूर्वमन्त्रीले पराजय बेहोर्नुपरेको छ ।

    सिरहा क्षेत्रनम्बर-१ मा पूर्वमन्त्री तथा कांग्रेस नेता पदमनारायण चौधरी एमालेका रामशंकर यादवसँग पराजित भएका छन् । एमालेका यादवले २९ हजार चार सय ६२ मत प्राप्त गरि विजयी हुँदा चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरेका थिए ।

    सिराहा क्षेत्रनम्बर-२ मा पूर्वमन्त्री तथा कांग्रेस नेत्री चित्रलेखा यादव पराजित भएकी छिन् । उनलाई पूर्वमन्त्री तथा जसपाका नेता राजकिशोर यादवले एक हजार एक सय ५० मतान्तरले पराजित गरेका हुन् ।

    त्यहाँ जसपा नेता यादवले २४ हजार एक सय ७८ मत प्राप्त गर्दा कांग्रेस नेत्री यादवले २३ हजार २८ मत प्राप्त गरिन् । सिराहा क्षेत्रनम्बर-३ मा चुनावी मैदानमा उत्रिएका पूर्वमन्त्री तथा एमाले नेता लिलानाथ श्रेष्ठ निर्वाचित हुँदा अर्का पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता विश्वनाथ साह पराजित भएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले नेता श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गर्दा माओवादी नेता साहले २६ हजार आठ सय ८२ मत प्राप्त गरेका थिए ।

    सिराहा क्षेत्रनम्बर-४ मा पूर्वमन्त्री धर्मनाथ साह पनि फराकिलो मतान्तरले पारजित भएका छन् । सो क्षेत्रमा जसपाबाट डा.वीरेन्द्रप्रसाद महतो २३ हजार एक सय दुई मत ल्याएर विजयी हुँदा तेस्रो स्थानमा रहेका पूर्वमन्त्री साहले १४ हजार ६५३ मत मात्र प्राप्त गरेका थिए ।

    उम्मेदवारी दर्तादेखि मतगणनासम्म सर्वाधिक चासोको रुपमा रहेको सप्तरी क्षेत्रनम्बर-२ मा पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग फराकिलो मतान्तरले पराजित भएका छन् ।

    जनमत अध्यक्ष डा.राउतले ३५ हजार ४२ मत प्राप्त गरि विजयी हुँदा जसपा अध्यक्ष यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गरेका छन् । सो क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर २ (२) मा चुनाव लडेका पूर्वमन्त्री तथा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेशकुमार यादव आफ्नै पूर्वसहकर्मीबाट पराजित भएका छन् ।

    उम्मेदवारी मनोनयनपत्र दर्ताको पूर्वसन्ध्यामा नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका महेशप्रसाद यादवले पूर्वमन्त्री यादवलाई पराजित गरेका हुन् ।

    गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्रनम्बर-१ बाट निर्वाचित भई मन्त्रीसमेत भइसकेका हेमराज तातेड यस पटकको प्रदेशसभा सदस्य निर्वाचनमा भने आफ्नो जमानतसमेत जोगाउन सकेनन् ।

    कांग्रेसले टिकट नदिएपछि सप्तरी क्षेत्रनम्बर-१ (१) मा स्वतन्त्र उम्मेदवारी दिएका तातेडले जम्मा नौ सय ९२ मत मात्र प्राप्त गरेका थिए । सो क्षेत्रबाट एमालेका राजकुमार लेखी १४ हजार दुई सय ९१ मत प्राप्त गरी विजयी भएका छन् ।

    महोत्तरीमा पनि दुईजना पूर्वमन्त्री पराजित भएका छन् । महोत्तरी क्षेत्रनम्बर-१ मा पटक-पटक मन्त्री भइसकेका माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल एक हजार ३० मतान्तरले प्रतिस्पर्धीसँग पराजित भएका छन् ।

    एमालेका लक्ष्मी महतो कोइरी २३ हजार चार सय दुई मत ल्याएर विजयी हुँदा पूर्वमन्त्री पोखरेलले २२ हजार ३०२ मत प्राप्त गरेका थिए । २०७० र २०७४ सालको निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव पनि पराजित भएका छन् । कांग्रेस नेता महेन्द्र राय महोत्तरी क्षेत्रनम्बर-४ बाट निर्वाचित हुँदा पूर्वराज्यमन्त्री यादव चार हजार एक सय २४ मतान्तरले पराजित भएका हुन् ।

    राय २५ हजार ४२० मत ल्याएर निर्वाचित हुँदा जसपाका यादवले २१ हजार दुई सय ९६ मत ल्याएका थिए । २०७४ सालको निर्वाचनमा यादवले रायलाई पाँच हजार मतान्तरले पराजित गरेका थिए ।

    २०७४ सालको निर्वाचनमा निर्वाचित भएको धनुषा क्षेत्रनम्बर-३ छाडेर सर्लाही क्षेत्रनम्बर-२ बाट चुनाव लडेका पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि पराजित भएका छन् ।

    माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा महतो दुई हजार ११ मतान्तरले पराजित भएका हुन् ।

    महेन्द्र रायले २३ हजार पाँच सय २९ मत ल्याएर विजयी हुँदा महतो २१ हजार पाँच सय १८ मत ल्याएका थिए । यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि तत्कालिन सर्लाही क्षेत्रनम्बर-५ मा महतो महेन्द्र राय यादवसँगै पराजित भएका थिए ।

    २०७४ सालको निर्वाचनमा धनुषा क्षेत्रनम्बर-३ मा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेर महतो सांसद् भएका थिए । वर्तमान सरकारको खानेपानीमन्त्री तथा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी बारा क्षेत्रनम्बर-१ मा पराजित भएका छन् ।

    जहाँ एमालेका अच्युतप्रसाद मैनाली ३९ हजार १९५ मत ल्याएर विजयी भएका छन् । मन्त्री चौधरीले भने ३० हजार ५६ मत मात्र प्राप्त गरे । पूर्वमन्त्री तथा एमाले नेता एकबाल मियाँ बारा क्षेत्रनम्बर-४ मा नेकपा (एकीकृत समाजवादी)का नेता कृष्णकुमार श्रेष्ठसँग पराजित भएका छन् ।

    श्रेष्ठले ३० हजार तीन सय ४१ मत ल्याएर विजयी हुदाँ पूर्वमन्त्री मियाँ भने २० हजार ३३६ मत प्राप्त गरेका छन् । यस्तै पूर्वमन्त्री तथा कांग्रेस नेता सुरेन्द्रप्रसाद चौधरी पर्सा क्षेत्रनम्बर-३ मा एमालेका राजकुमार गुप्तासँग पराजित भएका छन् ।

    निर्वाचित भएका एमालेका गुप्ताले २४ हजार ३१९ मत ल्याए भने चौधरीले २४ हजार १५२ मत ल्याएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology