Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पात्लेगाउँका घरघरमा पानीको धारा 

पात्लेगाउँका घरघरमा पानीको धारा 

  • 405
    SHARES
  • पात्लेगाउँका घरघरमा पानीको धारा 

    बाग्लुङ । दुई वर्ष अगाडिसम्म बाग्लुङको बडिगाड-१० पात्लेगाउँका बासिन्दा कुवा, पोखारी र कुलाको दूषित पानी उपभोग गर्न बाध्य थिए । अहिले नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले घरघरमा धारो निर्माण गरिदिएपछि सहज बनेको छ ।

    पात्लेगाउँका ८७ वर्षीय दलबहादुर रास्कोटीले गाग्रीमा पानी बोक्न थालेको ८१ वर्ष भयो । छ वर्षको उमेरदेखि नै खानेपानी बोकेर उपभोग गर्दै आएका रास्कोटीको मुहारमा अहिले खुसी छाएको छ ।

    घरघरमा धारा निर्माण भएपछि रास्कोटीलगायत सिंगो गाउँलेको अवस्था फेरिएको छ । यसअघि बस्ती नजिक खानेपानीको मुहान नहुँदा गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो । अहिले उक्त समस्याबाट स्थानीय मुक्त भएका छन् ।

    वर्षौंदेखि पोखरी र कुवाको फोहर पानी छानेर उपभोग गर्नुपर्ने बाध्यता थियो । एक गाग्री पानी ल्याउन तीन घण्टाको यात्रा गर्नुपर्थ्यो । ‘बाउबाजेले यस्तै कुवा, पोखरीको पानी खाए, हामीले पनि सानैदेखि टाढाबाट पानी बोकेर खायौँ, बल्ल घरमा पानी आयो’, रास्कोटीले भने ।

    रास्कोटीले तीन घण्टा टाढाको छिमेकी गाउँ दर्लिङखोलाबाट पानी बोकेर उपभोग गरेको विगत सुनाउँछन् । ‘अधिकांश समय पानी बोक्नमै बित्थ्यो’, उनले भने, ‘पानी भर्न छिमेकीसँग झगडा हुथ्यो ।’

    स्थानीय शान्ती थापा शहर बजार नजिकको गाउँमा घरमा धारा नहुनु दुःखद कुरा भएको बताउँछिन् । उनले भनिन्, ‘हामी काकाकुल भयौँ, खानेपानीका लागि विभिन्न निकायलाई गुहार्‍यौं, कुनै सुनुवाइ भएन ।’

    घण्टौँ लगाएर खाली खुट्टा पानी बोक्दा बिरामीसमेत हुने गरेको थापाले विगत स्मरण गरिन् । समयमा पानी ल्याएर घर नआउँदा बालबालिकालाई विद्यालय पठाउनसमेत नसेको उनले बताइन् ।

    ‘टाढाको पानी, बिहान उज्यालो नहुँदै जानुपथ्र्यो, नत्र पालो पाउन मुस्किल पथ्र्यो, केटाकेटीलाई स्कुल पठाउन अबेर हुन्थ्यो’, थापाले भनिन्, ‘कति समय त फोहर पानी खाँदा बिरामी पनि परियो ।’

    स्थानीय सुनिता विकले चाँडो पालो पाउनका लागि रातको समयमा जंगलको बाटो हिँडेर पानी बोकेको अनुभव बताइन् । उनले भनिन्, ‘पानी बोक्नुपर्दा खाना र खाजा खाने समय एउटै हुन्थ्यो, अरु काम गर्ने समय नै मिल्दैनथ्यो ।’

    नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बाग्लुङका योजना अनुगमन निरीक्षक विनोद कोइरालाले प्राथमिकतामा राखेर खानेपानीको व्यवस्थापन गरिएको बताए । उनले जिल्लाका अन्य ठाउँमा समेत नेवाले पानीको व्यवस्थापन गरिरहेको जानकारी दिए ।

    घना जंगलबीचको पात्लेगाउँमा २९ घरमा २१ धारा निर्माण गरिएको छ । धारा निर्माण गर्न करिब ४५ लाख खर्च भएको नेवाले जनाएको छ । यसका लागि नेवाले ३१ लाख ५० हजार, बडीगाड गाउँपालिकाले तीन लाख ८३ हजार र स्थानीयले १० लाख बराबरको श्रमदान गरेका थिए ।

    गाउँदेखि छ किलोमिटर टाढाको निगलपानी मुहानबाट पाइपलाइनमार्फत पानी ल्याइएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij