वेबटिभी खबर
रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ बाङका खड्गसिंह बुढामगर सुन्तला बिक्रीका लागि दाङको घोराही आएका छन् । रोल्पाका किसानले उत्पादन गरेको पाँच हजार पाँच सय क्विन्टल सुन्तला खरिद गरेर बजारको खोजीमा दाङ आइपुगेका हुन् ।
रोल्पामा भने जती मूल्य नपाएपछि महँगो बस भाडा खर्च गरेर दाङ आएको उनले बताए । घोराहीमा मासिक ८ हजारमा कोठा भाडामा लिएर बुढामगरले सुन्तला बिक्री गर्न थालेका छन् ।
उनले चार सय ५० सुन्तलाका बिरूवा रोपेकोमा दुई सय बोटले फल दिन थालेको जानकारी दिए । गत वर्ष सुन्तलामा फल लाग्दा असिना पानीले नोक्सान गरेको थियो । फल राम्रोसित लागेको थिएन । यसपाली पर्याप्त मात्रामा सुन्तला फलेको बुढामगरले बताए ।
‘रोल्पामा बजार नपाउँदा बिक्री गर्न दाङ आउनुपरेको हो’, उनले भने । गत वर्ष आठ लाखको सुन्तला बिक्री भएको बुढामगरको भनाइ छ । रोल्पामा उत्पादन भएको सुन्तला भण्डारण गर्न समस्या छ ।
व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता बुढामगरसित छ । स्थानीयस्तरमा शीत भण्डारको व्यवस्था गर्न सके उत्पादन भएका फलफूल लामो समय राख्न सकिने थियो । लामो समयसम्म भण्डारण गरेर राखे पछि महंगोमा बिक्री गर्न सकिने उनको भनाइ छ ।
घोराहीका व्यापारीलाई थोक र फुटकरमा सुन्तला बिक्री गर्दैआएको बुढामगरले बताए । खुद्रामा प्रतिकिलो ८० मा सुन्तला बिक्री गर्ने गरेका छन् । स्थानीय उत्पादनलाई प्रोत्सान गर्न स्थानीय, प्रदेश र संघीय सरकारले विशेष पहल गर्नुपर्ने बुढामगरको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij