Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

बालविकास केन्द्र स्थापनादेखिका तीतामिठा क्षणहरू

बालविकास केन्द्र स्थापनादेखिका तीतामिठा क्षणहरू

  • 2.7K
    SHARES
  • बालविकास केन्द्र स्थापनादेखिका तीतामिठा क्षणहरू

    खरले छाएको एउटा गोठमाथि २०६० साल वैशाख १ गते एकाविहानै गाउँका बालबालिकालाई शिक्षाको ज्योति दिने उदेश्यका साथ साविकको रुकुम पश्चिम मुरु गाविस वडा २ मा सयपत्री बालविकास केन्द्र खोरबारे स्थापना भइ शिक्षण कार्य सुरु भयो ।

    images

    गोठमाथि बालबालिकालाई पढाउने कार्यबाट सुरु भएको यो विद्यालय हाल त्रिवेणी गाउँपालिका चेतना आधारभूत विद्यालय खोरबारेको नामबाट दुनियाँको नजरमा नमुना बनेर स्थापित भएको छ ।

    बालविकास स्थापना गर्दा स्थानीयबासी डिल्लीबहादुर पुन, प्रेमबहादुर बाठा, लीलाबहादुर बाठा, रामबहादुर विक, भद्रबहादुर सिर्पाइली र लिला पुनको अथक मेहनतबाट यो विद्यालय स्थापना गरिएको थियो ।

    आज भन्दा १९ वर्ष पहिला विद्यालयको जुन परिचय थियो हाल त्यो परिचय फेरिएको छ । बालविकासबाट सुरु भएको उक्त विद्यालयमा सुरुमा विश्व पुनले पढाउनुभयो । उहाँलाई विद्यालयमा बालबालिकाको चिन्तासँगै विद्यालयको चिन्ता पनि भारी रहेको थियो । केही समयपछि प्रारम्भिक बालविकास कक्षामा मलाई पढाउने अवसर प्राप्त भयो ।

    हाल विभिन्न समय र कालखण्ड पार गरि विद्यालयको उमेर सँगै मेरो शिक्षण गर्ने उमेर दैनिक थपिदै गएको छ । हाल विद्यालयमा ६ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।

    विद्यालयलाई हालको अवस्थामा ल्याउनका लागि गाउँमा अदुवा खेती, देउसी , भैली खेलेर जम्मा भएको पैसाले शिक्षकलाई तलब भत्ता उपलब्ध गराएर विद्यालयलाई यो अवस्थामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । सुरुमा मैले पढाउँदा मासिक रूपमा १ हजार २०० रुपैयाँ तलब बुझेर काम गरेको थिएँ ।

    दिनभरी काम गर्दा मेरो तलब ४० रुपैयाँ हुने गथ्यो । यो संर्घषको मैदानबाट मैले यो विद्यालयमा पढाउँदा पैसा भन्दा पनि यहाँका बालबालिकाको अनुहारमा शिक्षा पाएको पाउँदा निकै खुसी लाग्थ्यो ।

    त्यो अनुभूति नै हजार पाएको जस्तो लाग्थ्यो । कुनै तालिम तथा अनुभव नभएको म एक्कासी विद्यालयमा आएर त्यो पनि भर्खरै हुर्कँदै गरेको विद्यालयमा पढाउनु एक चानचुने काम थिएन ।

    सिक्दै, पढ्दै गर्दा मैले पटक–पटक विद्यालय व्यवस्थापन समितिसँग तलब भत्ता पढाउन माग गरेपनि सो माग पूरा हुन सकेन । विद्यालयको आम्दानी तथा बजेट नभएको भन्दै मेरो स्वाभाविक मागहरू समेत सम्बोधन गर्न फलामको चिउरा चपाए भन्दा कठिन भयो ।

    २०६७ सालमा पहिलो पटक रुकुमेली विकास केन्द्रले आयोजना गरेको पाँच दिने तालिम नै जिन्दगीको पहिलो मात्र होइन अनुभव आदानप्रदान गर्ने महत्त्वपूर्ण थलोको रुपमा लिएको थिएँ ।

    तालिम पश्चात् विद्यालयमा केही शैक्षिक सामग्री तथा व्यवस्थापनको पाटो केही निकै कमजोर थियो । आफूले पाएको तलबभत्ताबाट शैक्षिक सामग्री खरिद गरेर बालबालिकाको भविष्य र सिकाइलाई निरन्तरता दिएको जिन्दगीको नयाँ अनुभव हो ।

    यसरी विद्यालयमा मैले गरेको कामलाई जिल्लाबाट आएको अनुगमन (जिविस सूचना अधिकृत चिन्तामणि दाहाल, जिशिअ प्रमुख देवीलाल विष्ट) टाेलीले उच्च प्रशंसा गर्दै मलाई सम्मान समेत गरेको थियो ।

    जिल्ला परिषद्बाट २०७२ सालमा मलाई सम्मान गरेर काम प्रतिको थप जिम्मेवारी बढाउने काम भयो । त्यतिबेला जिल्लाकै नमुना बालविकास केन्द्र भनेर सम्मान पाउँदा मेरो मन खुसीले गदगद मात्र होइन नयाँ जोसजागर पनि पनि आएको थियो । हामीलाई राज्यले ठगे पनि मैले बालबालिकाको भविष्यमाथि कहिले पनि ठग्ने काम भएन ।

    हालसम्मा मैले टिपिडी, पूर्णताजकी तालिम लिएको छु । यता मैले मेरो अध्ययन डिग्रीसमेत सकाएको छु । म बाहिर जागिरको लागि जान खोज्दा बालबालिकाको माया र स्नेहका कारण फेरि मनले नमान्दा यही विद्यालयमा कार्यरत रहेको छु । यसै बीचमा पत्रकारिताको आँखाबाट समेत राम्रो काम गरेको भन्दै जिल्लाको पत्रिका रेखदेख साप्ताहिकबाट समेत सम्मान पाएको थिए ।

    दैनिक ४० रुपैयाँबाट सुरु भएको मेरो कर्मको फल अहिले ५०० सयमा आएर निरन्तर अगाडि बढेको छ । अहिले त्रिवेणी गाउँपालिकाबाट विद्यालयमा शैक्षिक सामग्री सहयोग हुनुका साथै शिक्षकलाई समेत सहयोग गरिएको छ ।

    दिनभरीको कामको तुलनामा अहिले हामीलाई उपलब्ध गराएको रकम नगन्य मात्रामा रहेको छ । भर्खरै मात्र गाउँपालिकाबाट उत्कृष्ट बालविकास बनाएको भन्दै मलाइ सम्मान समेत गरिएको छ ।

    राज्यले अब हामीलाई श्रम अनुसारको ज्याला उपलब्ध गराउनु पर्ने माग गम्भीर रुपमा राख्दै आएका छौँ । उही शिक्षण पेशा, उही काम तर तलब भने असमान हुँदा हामीलाइ पीडा सही नसक्नु भएको छ । हामीले विमा, दरबन्दीमा कायम हुनुपर्ने लगायतका मागहरू राखेर हामी आन्दोलनमै रहेका छौँ ।

    लेखक : श्री जनचेतना आधारभुत विद्यालय त्रिवेणी गाउँपालिका रुकुम पश्चिमकी बालविकास शिक्षिका हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology