Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अक्सिजन अभावमा छट्पटाउँदै बिरामी, उखान-टुक्का र सत्ताको होडबाजीमै व्यस्त सरकार 

अक्सिजन अभावमा छट्पटाउँदै बिरामी, उखान-टुक्का र सत्ताको होडबाजीमै व्यस्त सरकार 

  • 1.5K
    SHARES
  • अक्सिजन अभावमा छट्पटाउँदै बिरामी, उखान-टुक्का र सत्ताको होडबाजीमै व्यस्त सरकार 

    कोरोना महामारी व्यवस्थापन गर्नमा नेपाल सरकारले सुरुदेखि नै जति गृहकार्य गर्नुपर्ने थियो, त्यति नगर्नाले आज समस्या जटिल बन्दै गइरहेको अवस्था छ । सतहबाटै नियाल्ने हो भने पनि सरकारका धेरै कमी कमजोरीहरू प्रस्ट देख्न सकिन्छ । समस्याले विकराल रूप लिनुअगावै देखिएका समस्याहरू अवलम्वन गरी उचित क्वारेन्टिन र आईसोलेसनको व्यवस्था गर्नुपर्ने थियो तर विडम्बना समयमै सरकारले त्यसो गर्न सकेन । 

    images

    त्यसको परिणम करीब डेढ बर्ष बितिसक्दा पनि सर्वसाधारणले भोगिरहेका छन् । अरू विभिन्न देशको तुलनामा हेर्ने हो भने नेपालमा रोगको संक्रमण धेरैपछि मात्र भित्रिएको हो । त्यतिबेला नै सरकारले क्वारेन्टिन र आइसोलेसनको विषयमा चासो देखाएको भए त्यस्ता पूर्वाधार व्यवस्थापनका लागि हामीसँग पर्याप्त समय थियो ।

    छिमेकी मुलुक भारतसँग हाम्रो खुल्ला सिमाना भएकै कारण उता संक्रमण तीव्र गतिमा फैलिँदा भारतमा बसाोबास गरिरहेका हजारौं नेपालीहरू स्वदेश भित्रिँदा हामीकहाँ पनि त्यसको प्रभाव पर्न सक्छ भन्ने सामान्य अनुमान पनि गर्न सकिएन र सीमामा कडाइ गर्नको लागि पूर्वतयारीमा ध्यान गएन । क्वारेन्टिन र आइसोलेशनको तयारीतर्फ कोही लाग्दै लागेनन् ।

    सरकार एकले अर्कोलाई दोषारोपण गर्दै उखान टुक्का र दोहोरीको होडबाजीमै व्यस्त भयो । समस्यालाई जडदेखि नै नियाल्ने समय नै भएन भनौं या भनौं  बेवास्ता गरियो । यस्तो गैरजिम्मेवार भइदिँदा जनताले सरकारबाट के अपेक्षा गर्ने ? अहिले हर सर्वसाधारणमा नैराश्यताबाहेक केही छैन । सरकार र राजनीतिक पार्टीहरूले यस्तो महामारी व्यापक फैलिरहेको अवस्थामा एकअर्काको खिचातानी नगरी रोग नियन्त्रणको निमित्त आ-आफ्ना स्तरबाट पहल गर्नुपर्ने हो ।

    महामारीका विरुद्ध भईरहेका क्रियाकलापमाथि भ्रष्टचारको छायाँसमेत पर्न नदिने, काम कारवाही र निर्णयहरूलाई आपसी समझदारीमा कार्यान्वयनका लागि समन्वय गर्ने, विभिन्न तहका कर्मचारीहरूलाई आवश्यक जिम्मेवारीहरू दिने लगायत स्वास्थ्य क्षेत्रमा लागिपरेका स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने, बिरामीको उच्च मनोबल वृृद्धिका लागि उनीहरूलाई सकारात्मक बनाउनेजस्ता कुराहरू राजनितिक दलहरूबाट हेर्नुपर्ने हुन्छ । 

    यस महामारीका बिचमा सरकारका धेरै कमी कमजोरीहरू भए । यति ठूलो लडाइँमा हामीले पार्टी-पार्टी बीचको मत विभेदहरू उब्जिन दियौं । एक समय त उच्चस्तरीय राजनेताहरुको जुहारी नै चल्यो । एकले अर्कोलाई होच्याउने, गिराउने र कोरोनालाई सामान्य रूपमा लिएर ‘हाच्छ्यूँ’ गरेर भगाइदिनुपर्छ भन्नेजस्ता ठट्टा गरेर यसलाई गहिरो रूपमा लिइएन ।

    कुनै बेला नेपालमा पनि एकजना संक्रमित भेटियोभन्दा भयावह भएको मन अहिले दिनमा दुई सयभन्दा बढिको मृत्यु, लास जलाउने ठाउँसमेत पालो कुर्नुपर्नेजस्ता समाचारहरू आउँदा पनि टुलुटुलु हेरेर बस्नुको विकल्प छैन । यो दल, ऊ पार्टी, हाम्रो पार्टी भन्नुभन्दा यस्तो महामारीको लडाइँमा जुनसुकै पक्षबाट भए पनि सबैजना एक भएर जिम्मेवारीवहन गर्नुपर्ने हो तर यसको ठीक विपरित सरकारले गम्भीर रुपमा जति चासो लिनुपर्ने हो, त्यति लिएको देखिँदैन ।

    कोरोनाको संक्रमणको अवस्था फरक व्यक्तिमा फरक तरिकाको देखिएको छ । करिब दुईसाता आइसियूको उपचारपश्चात घर फर्किनुभएकी काठमाडौंकी सीता खरेल भन्छिन्, ‘कोरोनालाई सामान्य रुपमा नलिऔं, हामीले ख्याल ख्याल सोचिरहेका छौं तर एकदमै सचेत हुनुपर्ने अवस्था आइसकेको छ ।’

    यसैबीच अर्का एकजना संक्रमित ‘कोरोना भनेको खासै ठूलो कुरा हैन रहेछ, आत्मबल बलियो बनायो भने सजिलै जित्न सकिने रहेछ’ भन्ने धारणा राख्नुहुन्छ । कोरोनाका बारेमा कसैले भोगेर, कसैले सुनेर अथवा कसैले अध्ययनका आधारमा विभिन्न भनाइहरू राख्दै आएका छन् । तर पछिल्लो समयमा संक्रमित र मृतकको संख्या व्यापक रूपमा बढ्दै गइरहेको कारणले चाहिँ समाजमा संक्रमणको त्रास तुलनात्मक रूपमा बढ्दै गइरहेको देखिन्छ । जे-जस्तो भए पनि सुरुमा त व्यक्ति आफैं संयमित भएर आफ्नो ठाउँबाट सावधानीहरू अपनाउनुपर्ने जरूरी देखिन्छ ।

    कुनै पनि प्राकृतिक प्रकोप होस् या रोगको महामारी, पहिलो प्रत्यक्ष असर भनेको गरिब तथा न्युन आय भएका वर्गलाई पर्दछ । यस्तो असर दीर्घकालीन नै पनि हुन सक्दछ । अधिकांशहरूले यस लकडाउनका अवधिभरिमा आम्दानी र रोजगारीको स्रोत गुमाएका छन् । साधारण लेखपढ भएका र गरिब जनताहरुको आम्दानीका स्रोत एक्कासी बन्द हुँदा दैनिक जीवनयापनमा समेत समस्या हुँदै गइरहेको छ ।

    स्वास्थ्यकै कुरा गर्ने हो भने पनि यस्ता विपन्न वर्गले नै बढि सास्ती खेप्नुपरेको छ । दीर्घरोगी तथा चिकित्सकको दैनिक निगरानीमा उपचार गराउनुपर्ने बिरामीहरू अस्पताल जान सकिरहेका छैनन् । सरकारले घर-घरमै उपचार सेवा पद्धति विकास गरेको छैन, यदि गरिहालेको खण्डमा पनि विपन्न वर्गले खर्च जुटाउन सक्ने स्थिति छैन । निःशुल्क उपचार सेवा भन्ने अवधारणा त राज्यको टु डु लिस्टमा नै छन् भन्दा फरक नपर्ला ।

    सामाजिक सञ्जालहरूमा संक्रमण र मृत्युका खबरहरूबाहेक केही देखिन्नन् । जनताका पीडा र समस्यालाई ओझेल पार्दै सरकारले पद, पार्टी र कुर्सीलाई प्राथमिकता दिएको देख्दा आफूलाई यो देशको नागरिक हुँ भन्न पनि हिचकिचाउन मन लाग्छ । राजनीतिक बेमेलका दृश्यहरू देख्दा त लाग्छ ‘के नेतृत्वदायी भूमिका निर्वाह गरेका र सरकारमा रहेका व्यक्तित्वहरूका लागि जनताको जीवनभन्दा ठूलो कुरा अरू केही हुन सक्छ र ?  कहिले सोच्ने यस बारेमा ? समयमै ध्यान नदिएको र प्राथमिकताका आधारमा काम नगरेका कारण आज नागरिकले अक्सिजन र बेडको अभावमा ज्यान गुमाउनु परेको छ । के सरकारको लागि यो सबै अदृश्य छ र ?

    हेल्लो सरकार ! बिन्ती छ अब केही समयका लागि तपाईंहरूका राजनीतिक खेलहरूलाई साईड लगाइदिनुहोस् । देश र जनताभन्दा ठूलो सत्ता होइन । आजको यस विपद्को घडीमा तपाईंहरू प्रतिबद्ध भएर जनताको जीवनरक्षाका निम्ति एउटै प्राथमिकता बनाउनुहोस् । कोरोना भाइरससँग लड्नका लागि नागरिकलाई हौसला दिनुहोस् । पार्टी, कुर्सी र पद भनेको त अनन्तः जीवन्त रहिरहनेछ । एकचोटी नागरिकको पीडालाई मनन गरेर यो देशको लागि लागिपर्नुहोस् । जनताको आँखामा जीवन्त बन्ने प्रयास गर्नुहोस् । त्यसपछि हर नेपालीले तपाईंको कार्यको प्रशंसा गर्नेछ र भन्नेछ ‘जय नेपाल सरकार’ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology