Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँ : रेशम चौधरी [अन्तर्वार्ता]

हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँ : रेशम चौधरी [अन्तर्वार्ता]

  • 569
    SHARES
  • हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँ : रेशम चौधरी [अन्तर्वार्ता]

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित संघीय संसद्मा प्रवेश गर्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा संघमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन ।

    निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले २ लाख ७१ हजार ६९६ मत प्राप्त गरेको छ । यही मंसिर ४ गते भएको निर्वाचनमा पार्टी अध्यक्ष रञ्जु श्रेष्ठ कैलाली निर्वाचन क्षेत्रनम्बर-१ बाट ३० हजार ४०४ मतसहित निर्वाचित भएकी छिन् ।

    उनले नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पराजित गरेर सदनमा प्रवेश गरेकी हुन् । कांग्रेसका चौधरीले १८ हजार ८१ मत प्राप्त गरेका थिए । सोही पार्टीबाट कैलाली क्षेत्रनम्बर-२ मा अरूणकुमार चौधरीले २१ हजार ८७१ मत ल्याएर निर्वाचित भएका छन् ।

    नेकपा (एमाले) का झपटबहादुर रावललाई पराजित गर्दै उनी संघीय सांसद बनेका हुन् । यस्तै क्षेत्रनम्बर-३ बाट गंगाराम चौधरीले नेकपा (माओवादी केन्द्र) का कृष्णकुमार चौधरीलाई पराजित गर्दै संसदीय यात्रा तय गरेका छन् ।

    गंगारामले २३ हजार १२० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत ल्याएका थिए । रेशम चौधरीका बुवा लालवीर चौधरी बर्दिया निर्वाचन क्षेत्रनम्बर-२ बाट २६ हजार ५२० मतसहित स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका छन् ।

    उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार ३८४ मत ल्याएका छन् । विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहेका रेशम चौधरी पार्टी निर्वाचन परिणाम आएसँगै सरकार गठनका सन्दर्भमा पुनः चर्चामा छन् ।

    सरकार गठनका लागि बहुमत जुटाउने कसरत भइरहेका बेला नागरिक उन्मुक्ति पार्टी कुन कित्तामा उभिन्छ भन्ने पनि जनचासोको विषय छ । निर्वाचन परिणामपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत समसामयिक विषयमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चाैधरीसँग गरिएको कुराकानीको साराशं

    भर्खरै आम निर्वाचन सम्पन्न भएको छ, निर्वाचनलाई कसरी लिनुभएको छ ?

    निर्वाचन जनमत परीक्षण गर्ने विधि हो । यसलाई पार्टीले स्वाभाविक रूपमा लिएको छ । यस पटकको निर्वाचनमा पुराना दलप्रतिको वितृष्णा र नयाँ दलप्रतिको आकर्षण देखियो । परिणामले जनताले परिवर्तन चाहेको देखिएको छ ।

    निर्वाचनमा पहिलोपटक भाग लिएको नागरिक उन्मुक्ति पार्टीले ल्याएको मत परिणामबारे यहाँले कसरी समीक्षा गर्नुभएको छ ?

    निर्वाचनबाट हाम्रो पार्टीको विचार र मुद्दा अनुमोदन भएको छ । जनताले हाम्रा मुद्दालाई २०७४ देखि नै समर्थन गरिरहेका छन् । हामीलाई न्याय देऊ भनेर तीनपटक हाम्रो पक्षमा मतदान भइसकेको छ । जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौँ ।

    तर राज्यले त्यसलाई सम्बोधन गरेको छैन । जहाँसम्म परिणामको कुरा छ, हामीले छोटो समयमा संघ र प्रदेशमा गरि १२ सांसद पाउँदैछौ ।

    पाँच निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार दुई सयभन्दा कम र नौ स्थानमा एक हजारभन्दा कम मतले पराजित भएका छन् । स्थानीय तहमा करिब एक सय जना साथीहरू निर्वाचित भइसक्नुभएको छ ।

    तपाईंको पार्टीलाई प्राप्त मतलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

    टीकापुर घटना राजनीतिक घटना हो । तर पनि हाम्रा साथीहरू जेलमा छन् । कैयौँले मुद्दा खेपिरहनुभएको छ ।

    यस पटक हामीले तीन प्रकारका मतदाताबाट माया पायौँ । टीकापुर घटनाले मन दुःखेका, हाम्रो न्यायका लागि मत राख्नेहरू र नयाँ अपेक्षा राख्ने मतदाताले हामीलाई सहयोग र समर्थन गरि मतदान गर्नुभएको छ ।

    अरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

    मैले पुराना दल तथा नेताबाट व्यक्त विचार हेरिरहेको र सुनिरहेको छु । उहाँहरूले हामीहरूलाई बिलाएर जान्छन्, अस्तित्व छैन, दृष्टिकोण नै नभएका भन्नेखालका लाञ्छना लगाइरहनुभएको छ ।

    तर हामीलाई यस्तो आरोप लगाइरहँदा हाम्रो घोषणापत्र एकपटक अध्ययन गरेर मात्र बोलिदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

    मधेस केन्द्रित दल र पूर्वसहकर्मीप्रतिको बुझाइ के छ ?

    उहाँहरूप्रति खास केही भन्नु छैन । मैले उहाँहरूलाई सडकमा गइदिनुस्, माइकमा मात्रै बोलेर हुँदैन भनेको थिए । तर उहाँहरूले सहानुभूति बटुल्नका लागि मात्रै बोल्नुभयो । यसमा निकै दुःख लागेको छ ।

    त्यहाँका जनताले पनि मतमार्फत उहाँहरूप्रतिको गुनासो व्यक्त गरिसकेका छन् । अर्को चन्द्रकान्त (सीके) राउत मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो । उहाँको जनमत पार्टी मधेसमा वैकल्पिक शक्तिका रूपमा उदाएको छ । बाँकी त हेर्नु नै छ ।

    निर्वाचनको अन्तिम परिणाम पनि आउने क्रममा छ, सरकार गठनका लागि छलफल पनि भइरहेको छ, यसबीचमा तपाईंसँग कसैको कुराकानी भएको छ ?

    म आठ वर्षदेखि जेलमा छु । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सधैँ सरकारमै छन् । मधेस केन्द्रित दलका नेताहरू पनि कुनै न कुनै रूपमा सरकारमै हुनुहुन्छ ।

    उहाँहरूबाट हेर्न केही बाँकी छैन । कुराकानी भए पनि नतिजा नदेखिएसम्म अर्थ रहन्न ।

    सरकार गठनमा तपाईंहरूको भूमिका के हुन्छ ?

    हामी सबैसँग सकारात्मक नै छौँ । जबसम्म हाम्रा मुद्दाहरू सम्बोधन हुँदैनन् तबसम्म कुनै विकल्पमा जाँदैनौँ । कुरा प्रष्ट छ, जुन बाटोबाट मलगायत थुप्रै साथीहरू थुनियौँ, मुद्दा खेप्यौँ, त्यसबाट मुक्त गर्नुपर्यो ।

    त्यसो भए तपाईंहरूको मुख्य माग के हो ?

    हाम्रा माग पुरानै छन् । पटक-पटक उहाँहरूलाई भनिएकै हो । टीकापुर घटना राजनीतिक घटना हो त्यहीअनुसार व्यवहार गरिनुपथ्र्यो, हालसम्म गरिएको छैन । फेरि पनि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ । उहाँहरूसँग सहकार्य हुन्छ । त्यो भनेको रिहाइ र सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गरिनु पर्दछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij