Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

आयात रोकेर कृषकलाई आत्मनिर्भर बनाउन प्याजमा अनुदान 

आयात रोकेर कृषकलाई आत्मनिर्भर बनाउन प्याजमा अनुदान 

  • 279
    SHARES
  • आयात रोकेर कृषकलाई आत्मनिर्भर बनाउन प्याजमा अनुदान 

     कञ्चनपुर । स्वदेशमै प्याज उत्पादन गरी आयातमा रोक लगाउन कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अनुदान कार्यक्रम ल्याएको छ।

    images

    नगरपालिकाले प्याजको बीउमा ५० प्रतिशत अनुदान दिएर नगरभित्रका सबै कृषकलाई वितरण गर्न थालेको हो । प्याजको आयात रोक्न र नगरमै कृषकलाई आत्मनिर्भर बनाउन प्याजमा अनुदान दिइएको नगरपालिकाका प्रमुख हेमराज ओझाले बताए ।

    प्रमुख ओझाका अनुसार प्याजलाई व्यवसायीकरण गरी कृषकलाई स्वरोजगार दिलाउन पनि बीउ वितरण गरिरहेको छ ।

    ‘अहिले हामीले बीउमात्रै अनुदानमा वितरण गरेका छौँ’, उनले भने, ‘आगामी वर्षदेखि यसलाई बृहत्रूपमा व्यवसायीकरण गर्न खोजिरहेका छौँ । जसमा कृषकले समूह बनाए थप अनुदान पाउनुहुनेछ ।’

    उनले अनुदानमा बीउ लगेर आफू खानलाई मात्रै नभई व्यवसायीकरण गरी आयआर्जनका लागि पनि उमार्न कृषकलाई आग्रह गरे ।

    ‘नगरलाई प्याजमा आत्मनिर्भर बनाउन त्यसलाई व्यावसायिकरूपमा अगाडि बढाएमात्रै सम्भव छ’, उनले भने, ‘त्यसैले आफ्नो आर्थिक स्रोत पनि बनाउने किसिमले प्याजको उत्पादन गर्नुहोला, व्यावसायिकरूपमा भए भोलिका दिनमा थप अनुदानका कार्यक्रम प्राप्त गर्न सक्नुहुनेछ ।’

    नगरपालिकाले प्याजसहित च्याउ, गहुँ, धानलगायतका कृषि उत्पादनका लागि पनि अनुदान दिएको छ । नगरपालिकाले प्याजको आयातमा कमी ल्याउन अनुदानमा बीउ वितरण गरिरहेको नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

    धामीले चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई तीन लाखको बीउ वितरण गरेको बताए ।

    ‘प्याजको परनिर्भरतामा कमी ल्याउन हामीले बीउ वितरण  गरिरहेका छौँ’, उनले भने, ‘नगरबाट चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाको एक लाख ५० हजार र सोहीअनुसार कृषकको गरी तीन लाख बराबरको बीउ वितरण गर्नेछौँ ।’

    चालु आर्थिक वर्षमा नगरका सबै वडाका कृषकलाई अनुदानमा बीउ वितरण गर्ने र आगामी आर्थिक वर्षदेखि पकेट क्षेत्रका रूपमा वितरण गरिने उनले जानकारी दिए ।

    ‘अहिले यो पहिलो वर्ष भएकाले सबैलाई प्याजको बीउ वितरण गरिरहेका छौँ’, उनले भने, ‘आगामी वर्षदेखि पकेट क्षेत्रका रूपमा विकास गरी आवश्यक क्षेत्रमा मात्रै वितरण गर्नेछौं ।’

    चालु आर्थिक वर्षमा भने किसानलाई मागका आधारमा प्याजको बीउ वितरण गरिरहेको छ । वडागतरूपमा प्याजको उत्पादन हेरेर पकेट क्षेत्र छनोट गरिने उनको भनाइ छ ।

    यसअघि अन्य तरकारी तथा बालीका बीउ वितरण गरे पनि प्याजको बीउ भने नगरपालिकाले पहिलोपटक वितरण गरेको हो । नगरपालिकाले अनुदानमा दिँदा मंगलबार नगरपालिकामा प्याजको बीउ लिने नगरवासीको भीड लागेको थियो ।

    प्याजको आयात लगातार बढिरहेपछि कृषि मन्त्रालयले करिब एक दशकअघि ‘मिसन प्याज’ कार्यक्रम अगाडि सारेको थियो । देशभित्रै प्याजको उत्पादन बढाउन तराईका रुपन्देही, सप्तरी, सिरहा, रौतहट, बारालगायत जिल्लामा यो अभियान लागू गरिएको थियो ।

    किसानलाई प्याजको उन्नत बीउबिजन, मल र सिँचाइमा अनुदानलगायत प्रोत्साहनको योजना यसले अगाडि सारेको थियो । तर बीउको अभावका कारण उक्त कार्यक्रम प्रभावकारी हुनसकेको थिएन ।

    नेपालमा एक सिजनमा मात्रै उत्पादन हुने भएकाले पनि प्याजको आयात दिनानुदिन बढ्ने गरेको छ । नेपालमा प्रायः मंसिर-पुसमा रोपेर चैत-वैशाखमा उत्पादन हुने गरी एक मौसममा मात्र प्याज खेती गरिन्छ ।

    यसरी उत्पादित प्याज अधिकांश घरायसी प्रयोजनमै प्रयोग हुन्छ । व्यावसायिकरूपमा उत्पादन गरी बजारमा पठाउने किसान कमै छन्।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology