Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कमलामाई मन्दिर उत्पत्तिस्थल पर्यटकीय क्षेत्रको रूपमा प्रवर्द्धन गरिँदै

कमलामाई मन्दिर उत्पत्तिस्थल पर्यटकीय क्षेत्रको रूपमा प्रवर्द्धन गरिँदै

  • 349
    SHARES
  • कमलामाई मन्दिर उत्पत्तिस्थल पर्यटकीय क्षेत्रको रूपमा प्रवर्द्धन गरिँदै

    सिन्धुली । कमलामाई नगरपालिकाले कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिने भएको छ । प्रचार प्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले पर्यटन प्रवर्द्धनमा जोड दिएको छ ।

    images

    गौमती र कमला खोलाको संगमस्थल कनपा-५ मा कमलामाई मन्दिर अवस्थित छ । यसको उत्पत्तिस्थल कमलामाई नगरपालिका-८ माईशीर हो । बिपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा चहलपहल बढेको भए पनि यसको उद्गमस्थलबारे कतिपय बेखबर छन् । यहाँ पनि मन्दिर बनाइएको छ ।

    प्राकृतिक देवीदेवताहरूको शिला छन् । कमलामाई देवीले पानी पोख्नुभएको ठाउँबाट उम्रिएको पानी माईपोखरीमा जम्मा गरिएको छ । मन्दिर क्षेत्र पहाडले घेरिएको छ । चुरे क्षेत्रको सबैभन्दा अग्लो ठूलडाँडा यहीस्थल नजिक छ । ऐतिहासिक, धार्मिक, प्राकृतिक सुन्दरता मनोरम र रमणीय छ ।

    ऐतिहासिक धार्मिकस्थलको संरक्षणमात्र होइन विकास र प्रवर्द्धन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताए ।

    उनले भने, ‘यहाँसम्म आउने बाटो कालोपत्र हुने प्रक्रियामा छ । निर्माणाधीन धर्मशाला सम्पन्न गरेर वनभोजस्थल अझ व्यवस्थित बनाउँछौँ, नमूना ठाउँ बनाएर यस क्षेत्रमा पर्यटक भित्र्याउने योजना छ ।’

    कमलामाई मन्दिर हिन्दू धर्मलम्बीहरूले विश्वास गर्ने धार्मिकस्थलमा पर्दछ। बिपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा नेपाल र भारतका भक्तजन दर्शनका लागि आउँछन् ।

    तर मन्दिरको उत्पतिस्थल माईशीरमा धेरैजसो पुग्दैनन् । यहाँको सौन्दर्यता, ऐतिहासिकता र धार्मिकताका बारेमा प्रचार-प्रसार कमी भएको उनले सुनाए ।  नगरप्रमुख पोखरेलका अनुसार माईशीरमा हलुवावेद, जुनार, सुन्तला प्रशस्त पाइन्थ्यो ।

    हलुवावेद लोप भए पनि अमिलो जातका फलफूल अझै पाइन्छ । माईशीर क्षेत्रमा जुनार, सुन्तला, कागतीलाई व्यावसायिक खेतीका रुपमा विस्तार गरि पर्यटकीयस्थलका रूपमा विकास गरिने नगरको लक्ष्य छ ।

    यस क्षेत्रमा खानेपानी र सिँचाइको चरम समस्या भएकाले लिफ्ट खानेपानी योजनाअन्तर्गत समस्या समाधान गरिने र यहाँका नागरिकको जीवनस्तर उकास्ने उनको भनाइ छ ।

    उनले भने, ‘यस वर्ष प्रदेश सरकारको २५ लाखमा नगरबाट पैसा थपेर खानेपानी र सिँचाइको व्यवस्था गछौँ । त्यसपछि फलफूलको नमूना ठाउँका रूपमा विकास गदैँ लैजान्छौँ । विकासका हिसाबले पिछडिएको तर परिर्वतनको सम्भावना प्रचुर भएको यस ठाउँलाई धार्मिकसँगै पर्यटकीय क्षेत्र बनाउने लक्ष्य छ ।’

    इतिहासकारका अनुसार श्री ३ चन्द्रशम्शेरको पालमा विसं १९६४ मा फौदसिंहले माईशीरमा मन्दिर स्थापना गरेका थिए । सन् १९७४ मा फौदसिंहका छोरा कीर्तिमान कर्णेलले आवतजावतमा समस्या भएकाले हाल मन्दिर रहेको स्थान माईस्थानमा मन्दिर निर्माण गर्न लगाएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

    कमलमाई मन्दिर धार्मिक पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको स्थानीय कुमार मग्रातीले बताए । शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको संख्या बढ्दो छ ।

    उनले भने, ‘हिउँद मौसममा यस ऐतिहासिक तथा धार्मिकस्थलमा वनभोज खान आउनेको भीड हुन्छ । कहिले त वनभोज खान आउनेले बगर नै छपक्कै ढोकेका हुन्छन् ।’ कमलामाई मन्दिरमा दर्शन गर्दा मनले चिताएको पूरा हुने, शान्ति छाउने जनविश्वास रहेको पुजारी चन्द्र दासले बताए  उनले कमलामाई देवीको पवित्रस्थल शक्तिशाली भएको धारणा व्यक्त गरे ।

    कमलामाई मन्दिरको उद्गमस्थल माईशीरमा भए पनि त्यसको ऐतिहासिक धार्मिकता माईस्थानमा जोडिएकाले दुवै स्थलमा सत्यता र उत्तिकै महत्व रहेको कमलामाई मन्दिरमा ४३ वर्षदेखि पुजारीका रूपमा रहेका विष्णुप्रसाद कोइरालाले बताए ।

    उनका अनुसार प्रत्येक वर्ष माघे सङक्रान्तिका दिन दुवै स्थलमा  ठूलो मेला लाग्दै आएको छ । मेलामा नेपाल र भारतका भक्तजन उपस्थित बढी हुन्छन् । पहिला मन्दिरमा जाने झोलुंगे पुल नहुँदा बर्खायाममा भक्तजनको उपस्थित हुँदैन थियो ।

    मन्दिरमा आवातजावत गर्न सजिलो र मन्दिर व्यवस्थित हुँदै गएपछि दर्शनार्थी बाह्रै महिना आउने गर्छन् । एकपटक दर्शन गर्न आएका दर्शनार्थी चिताएको पूरा भयो भनेर पटक-पटक आउने गरेका पनि उनले बताए ।

    उनले भने, ‘माघ र फागुनमा कम्तीमा पनि सात-आठ हजार पशुपक्षीको काटमार हुन्थ्यो, रगतको खोलै बग्थ्यो । अहिले एक हजारको पनि काटमार हुँदैन, नरिवल फुटाउने, परेवा उडाउने गर्दछन् । काट्मार गरेर पशुबलि दिइन विस्तारै बन्दै गर्नुपर्छ ।’

    युवापुस्ता मन्दिरमा दिइने बलि प्रथाविरूद्ध भए पनि बूढापाकाले छोड्न नसकेकाले बलिप्रथा अत्य भने भइनसकेको बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology