Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

स्थानीय उत्पादनले बजार नपाउँदा समस्या

स्थानीय उत्पादनले बजार नपाउँदा समस्या

  • 669
    SHARES
  • स्थानीय उत्पादनले बजार नपाउँदा समस्या

    पाल्पा । गाउँघरमा उत्पादित सामग्रीले बजार नपाउँदा बजारीकरणमा व्यवसायीले चुनौती व्यहोर्नुपरेको छ ।

    ग्रामीण भेगमा पुरानो परम्परागत रूपमा उत्पादन हुने सामग्री शहर बजारमा झट्ट बिक्दैनन् । परम्परागत सामग्रीको ठाउँमा आधुनिक प्रविधिका सामग्री भित्रिन थालेपछि बजारको अभाव सिर्जना भएको हो ।

    चितवनको इच्छाकामना गाउँपालिका-१ दारेचोकका ४६ वर्षीय जितु दर्लामीले उत्पादन गरेका परम्परागत काठजन्य सामग्रीले बजार नपाउँदा अन्यत्र जिल्लामा धाउनुपरेको छ । उनले ठेकाठेकी, मानाजस्ता परम्परागत सामग्री तयार गर्ने गरेका छन् ।

    पाल्पाको रामपुरमा ठेकाठेकी, मानालगायतका काठजन्य सामग्रीको व्यापार गर्न आएका दर्लामीले बजारमा परम्परागत सामग्रीको महत्व नहुनु र उपभोक्ताले चलनचल्तीमा नल्याउँदा बिक्रीमा समस्या परेको गुनासो सुनाए ।

    ‘ठेकाठेकी, मानाको ठाउँमा अहिले बजारमा आधुनिक प्रविधिका सामान आउन थाल्यो, पुराना चलनचल्तीमा आएका सामग्री हराउँदै जानु, बजारमा यसको महत्व र प्रयोगबारे अहिलेका पुस्तालाई जानकारी नहुँदा हामीलाई व्यापार गर्न गाउँमै पुग्नुपरेको छ’, उनले भने ।

    लामो समयसम्म टिकाउ हुने साजन, दारको काठबाट सामग्री तयार गर्छन् । अन्य जिल्लामा आफ्नो र छिमेकीले उत्पादन गरेका सामानको व्यापार गर्दै आएको उनले बताए । ठेकाठेकीको मूल्य न्यूनतम मूल्य एक हजारदेखि बढीमा दश हजारसम्म पर्छ ।

    ‘काठका सामान आकार हेरेर मूल्य कायम गरिएको छ, एकै ठाउँमा बिक्दैन, विभिन्न जिल्लाका गाउँ बस्तीमा सामान बोकेर बेच्ने गरिरहेको छु, बजारीकरणका लागि अन्यत्र जिल्लामा जानुपर्दा निकै सास्ती परेको छ’, उनले भने ।

    दर्लामीले अहिले साहाराका लागि श्रीमती गोरीमायालाई पनि साथमै लिएर व्यापारमा ठाउँ-ठाउँमा पुग्छन् । घरमा साना-साना बालबच्चा छाडेर अर्काको ठाउँमा व्यापारमा निस्कदा धेरै चुनौतीको सामना गरिरहनुपरेको उनको अनुभव छ ।

    अहिलेसम्म चितवनका अलवा बाग्लुङ, पर्वत, पाल्पा, म्याग्दी, तनहुँ, स्याङ्जा, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा पुगेर दर्लामीले व्यापार गर्दै आएका छन् । गाउँघरमा दुग्धजन्य पदार्थ दूध, दही, घ्यू राख्न साजन, दारका काठबाट उत्पादन गरिएको ठेकाठेकी, माना गाउँमा धेरैको रोजाइमा पर्छ ।

    हरेक वर्ष साउनदेखि पुस महिनासम्म सामान बोकेर घरघरमा पुगेर व्यापार गर्ने गरेको उनले जानकारी दिए । यसैबाट पाँच जना छोराछोरीको लानपालन, पठनपाठनमा सहज होस् भन्ने उनको उद्देश्य छ । स्थानीय उत्पादनलाई बजारीकरणको प्रबन्ध मिलाइदिन उनले अनुरोध गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij