वेबटिभी खबर
कालीकोट । कालीकोटको पचालझरना गाउँपालिका-८ को मय गाउँ पहिराको जोखिममा परेको छ । गाउँको जमिन भासिँदै जाँदा मय गाउँ सुक्खा पहिरोको जोखिममा परेको हो ।
पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मय गाउँका ३२ घरधुरी सुक्खा पहिरोको जोखिममा परेका हुन् । मय गाउँमा चार दिनदेखि खाली जमिन भासिँदै गएको र नयाँ तथा पुराना घरका पर्खाल फाट्न थालेको पचालझरना गाउँपालिकाका पूर्वध्यक्ष खड्कराज सेजुवालले बताए ।
‘तल पहिरो वा सडक केही पनि छैन्, पानी पनि परेको छैन्, तर जमिन भासिँदै जाँदा ३२ घरधुरी जोखिम बढ्दै गएको छ’, उनले भने, ‘नयाँ बनेका घरकासमेत पर्खालमा दुई भागमा चिरा परेका छन् ।’
मय गाउँमा जमिन भासिँदै गएको खबर आएको र त्यहाँ बसोबास गर्नेलाई अन्य ठाउँमा बस्ती सार्न भनिएको इलाका प्रहरी कार्यालय पचालझरनाका प्रहरी प्रमुख जनक भण्डारीले जानकारी दिए ।
गाउँमा जमिन भासिँदै गएको र पहिराको जोखिम बढ्दै गएको खबर पाएका छौँ’, उनले भने, ‘त्यहाँका स्थानीय अगुवा तथा प्रहरी गएर बस्ती सुरक्षित स्थानमा सार्न भनिएको छ ।’
गाउँमा पानी पनि नपरेको र अहिले बस्तीमा रहेका घर भासिँदै गएका कारण गाउँमा त्रास फैलिएको स्थानीय रामबहादुर विकले बताए । ‘किन जमिन भासिँदै गएको छ, त्यसको कुनै पत्तो पाएका छैनौँ’, उनले भने, ‘अहिले पहिरो आउने हो कि भनेर त्रास बढेको छ ।’
तत्काल पहिरोको जोखिममा रहेका परिवारलाई अस्थायी आवासको व्यवस्थापन गर्ने तयारी थालिएको गाउँपालिकाका अध्यक्ष देवजंग शाहीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij