वेबटिभी खबर
कालीकोट । कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका-१ अँधेरीखोला भिरमा डोजर दुर्घटना भएको हो ।
फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिए ।
‘डोजरमा आठ जना सवार रहेकामा दुई जनाको मृत्यु भएको छ भने तीन जना कर्णाली नदीमा बेपत्ता भएका छन्’, उनले भने, ‘दुर्घटनामा तीन जना घाइते भएका छन् ।’
डोजर कर्णाली करिडोर नजिकै ८० मिटर तल नदीमा खसेको छ । मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका त्रिवेणी गाउँपालिका-१ का ३० वर्षीया चरित्र सार्की, १६ वर्षीय युवराज बुढा छन् ।
प्रहरी कार्यालयका अनुसार चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका-१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की बेपत्ता भएका छन् ।
यस्तै घाइते हुनेमा रास्कोट नगरपालिका-७ का २२ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका-११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारती छन् । घाइतेहरूको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij