Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सिँचाइ सुविधा दिन खेतमै विद्युत् सेवा

सिँचाइ सुविधा दिन खेतमै विद्युत् सेवा

  • 679
    SHARES
  • सिँचाइ सुविधा दिन खेतमै विद्युत् सेवा

    झापा । झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत-खेतमा बिजुली पुर्‍याउन सुरुआत गरेको छ ।

    किसानका लागि दिगो सिँचाइ प्रणालीअन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत-खेतमा विद्युत् सुविधा पुर्‍याउन थालेको हो ।

    गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गत आर्थिक वर्षमा एक सय किसानको खेतमा विद्युत् सुविधा उपलब्ध गराइसकेको र चालु आवमा थप एक सय ५० किसानको खेतमा विद्युत् पुर्‍याउन धमाधम काम भइरहेको बताए ।

    पालिकाले सिँचाइ गर्दा खपत हुने बिजुलीको बिल र विद्युतीय उपकरणको आधा लागत रकम अनुदानमा उपलब्ध गराउँदै आएको साहले जानकारी दिए ।

    ‘किसानलाई ट्युबवेल तथा मोटर खरिदका लागि ५० प्रतिशत अनुदान दिँदै आएका छौँ’, अध्यक्ष साहले भने । ‘पोहोर साल सय जना किसानले यो सुविधा लिनुभएको थियो, यसपालि निवेदन दिनेको संख्या बढेको छ ।’

    यस क्षेत्रका किसानले धान, मकै, तोरी, गहुँ र विभिन्न तरकारी खेती गर्दै आएका छन् । विगतमा आफूलाई खान पुग्ने मात्र अन्न उत्पादन गर्दै आएका स्थानीयवासी पालिकाले अनुदान दिन थालेपछि व्यावसायिक तरकारी खेतीमा जुटेका हुन् ।

    पालिकाले चालु आर्थिक वर्षमा किसानको खेत-खेतमा बिजुली पुर्‍याउने परियोजनाका लागि सात सयवटा बिजुलीका पोल खरिद गरिसकेको छ । अनुदान पाएपछि एकातिर पानी तान्ने ट्युबवेल र मोटर खरिदमा किसानको लागत कम भएको छ भने अर्कातिर उत्पादनमा वृद्धि भएको छ ।

    पालिकाका अध्यक्ष साहका अनुसार कम्तीमा चार बिघा जमिन बराबर एउटा ट्युबवेल र मोटर खरिदमा अनुदान दिइने व्यवस्था छ । बिजुलीको पोल पुर्‍याउन किसानले कुनै खर्च व्यहोर्नु पर्दैन ।

    थोरै जमिन भएका चारदेखि छ जनासम्मको समूह बनाएर किसान यो सुविधा लिन पालिकामा आउने गरेका छन् । झापा गाउँपालिका वडा नं-२ का ५५ वर्षीय किसान सहनी राजवंशीले खेतमा बिजुली पुगेपछि व्यावसायिक तरकारी सुरु गरेको बताए ।

    उनको खेतीमा अहिले भण्टा, काउलीलगायतको तरकारी बाली फस्टाइरहेको छ । ‘हामी किसानलाई पनि सरकारले खेती गर्न अनुदान दिँदोरहेछ भन्ने यसअघि थाहा थिएन’, उनले भने, ‘ट्युबवेलबाट पानी निकालेर सिँचाइ गर्न पाएका छौँ । तरकारी खेती राम्रो भएको छ।’

    पाँच वर्ष अघिसम्म घरमा बिजुली बाल्न नपाएका किसान खेतमै बिजुली पुगेपछि दंग भएका छन् । पालिकाको अध्यक्षमा साह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

    पहिलो कार्यकालमै उनले किसानलाई अनुदान कार्यक्रमको थालनी गरेका थिए । उनले पालिकाभित्रका वास्तविक किसानको पहिचान गरी परिचयपत्र वितरणका लागि समेत तयारी पूरा भइसकेको जानकारी दिए । झापाको दुर्गम मानिएको यस पालिकामा आदिवासी, जनजाति र मुस्लिम समुदायको बाहुल्य छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij