वेबटिभी खबर
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले निजी क्षेत्रप्रति सरकारले फरक दृष्ट्रिकोण नराखेको र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानेको बताएका हुन् ।
‘सरकारले निजी क्षेत्रलाई अर्कै नजरले हेर्छ भन्ने बुझाइ छ, तर सरकारले आफ्नै अभिन्न अंगकारूपमा लिएको छ, निजी क्षेत्रले दिएका सुझाव नै सरकारको नीतिमा पर्ने गरेका छन्’, अर्थमन्त्री शर्माले भने ।
अहिले अर्थतन्त्रमा देखिएका समस्या आन्तरिक कारणले मात्र नभइ विश्वव्यापीरूपमा सिर्जित बाह्य परिदृश्यका कारणसमेत रहेको जनाउँदै उनले समस्या समाधानका लागि सरकार र निजी क्षेत्र एकसाथ अघि बढ्नुपर्ने जानकारी दिए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भर्खरै मात्र सम्पन्न भएको र निर्वाचित प्रतिनिधिले अब विकासको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने पनि अर्थमन्त्री शर्माको भनाइ छ ।
‘नागरिकमा विकासको चाहना छ र यो संवैधानिक आवश्यकता पनि हो । अहिलेको अवस्थामा उत्पादन वृद्धि र आयात प्रतिस्थापन गर्ने कुराको महत्व छ । यसका लागि राज्यका सबै निकाय त्यसलाई कटिबद्ध भएर लाग्न म आग्रह गर्दछु’, मन्त्री शर्माले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij