वेबटिभी खबर
काठमाडौं । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कूल ४ हजार २८५ उम्मेदवारको धरौटी जफत हुँदा निर्वाचन आयोगलाई दुई करोड ९६ लाख ९० हजार रूपैयाँ आम्दानी भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम निर्वाचन परिणामअनुसार जमानत जफत भएका ४ हजार २८५ उम्मेदवारबाट दुई करोड ९६ लाख ९० हजार रूपैयाँ जमानत जफत भएको हो ।
पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारले मनोनयन दर्ता गर्दा प्रतिनिधिसभा सदस्यको लागि दश हजार रूपैयाँ धरौटी राख्नुपर्ने नियम छ । प्रदेशसभा सदस्य पदका उम्मेदवारले पाँच हजार रूपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ ।
तर महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुने, कुनै उम्मेदवारको दुई वटा मनोनयन पत्र दाखिला भएको अवस्थामा एउटा मनोनयन पत्रको लागि मात्र धरौटी राख्नुपर्ने आयोगले उल्लेख गरेको छ ।
निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनको लागि मनोनयन दर्ता गरेका १ हजार ७७२ जना पुरूष उम्मेदवारबाट १ करोड ७७ लाख २० रूपैयाँधरौटी जफत भएको छ भने १८९ जना महिला उम्मेदवारबाट ९ लाख ४५ हजार रूपैयाँ धरौटी जफत भएको छ ।
यस्तै प्रदेश सभातर्फ २ हजार ८६ पुरूष उम्मेदवारबाट १ करोड ४३ लाख रूपैयाँ धरौटी जफत भएको छ ।
२३७ जना महिला उम्मेदवारबाट ५ लाख ९२ हजार ५ सय रूपैयाँ धरौटी बापतको रकम जफत भएको छ भने, एकजना लैंगिक अल्पसंख्यक समुदायका उम्मेदवारबाट २५ सय रूपैयाँ धरौटी रकम जफत भएको छ ।
प्रदेश सभामा धरौटी जफत भएका कूल २३२४ जना उम्मेदवारबाट १ करोड १० लाख २५ हजार धरौटीबापतको रकम जफत भएको हो । यता प्रतिनिधि सभाका कूल १ हजार ९६१ जना उम्मेदवारबाट १ करोड ८६ लाख ६५ हजार रूपैयाँ धरौटीबापतको रकम जफत भएको हो ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ २ हजार ४१२ जनाले मनोनयन दर्ता गराएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij