वेबटिभी खबर
काठमाडौं । नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको मर्म र भावना प्रकिकूल नेपाली जनता र व्यवस्थामाथि नै घात भएको जनाएको छ ।
तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र नेपाली जनताको सात दशक लामो निरन्तरको संघर्षबाट प्राप्त व्यवस्था र यस व्यवस्थाले अंगिकार गरेको लोकतान्त्रिक विधि र पद्धतिलाई खलल बनाउँदै नेपालको संविधान वि.सं. २०७२ ले निदृष्ट प्रक्रिया विपरित मनोमानी तरिकाले असंवैधानिक ढंगबाट सो संविधानको मर्म र भावना प्रतिकूल राष्ट्रपतिद्वारा सिंगो नेपाली जनता र व्यवस्था माथि नै घात भएको छ। यो नेपालको लोकतान्त्रिक संविधानविरुद्धको अक्षम्य अपराध हो ।’
संविधानको अपव्याख्या गर्दै मध्यरातको अध्याँरोमा संविधानको चीरहरण भएको तरुण दलको ठहर छ । ‘देश, राष्ट्रियता र लोकतान्त्रिक संविधानको अपव्याख्या गर्दै मध्यरातको अध्याँरोमा संविधानको चीरहरण गर्ने गरी भएको नाङ्गो प्रहारको भर्त्सना गर्ने शव्द नै छैन । यो व्यवस्था र लोकतन्त्रको धज्जी उडाउने काममा संलग्न नायकहरु जनताको सामु घुँडा टेक्ने दिने धेरै टाढा छैन,’ विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाबाट देश आहत बनिरहेको बेला जनताको स्वास्थ्यमा ध्यान दिनुको साटो पटक–पटक संविधानमाथि भइरहेको प्रहार स्वीकार्य नहुने तरुण दलको चेतावनी छ। उक्त कदमको विरुद्ध एकजुट हुन तरुण दलले सबैमा अपिलसमेत गरेको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij