वेबटिभी खबर
पर्वत । पर्वतको आर्थरडाँडाखर्कमा रहेका परम्परागत घुमाउने घर संरक्षणको अभावमा खण्डहर बनेका छन् ।
गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँका अधिकांश परिवार शहरतिर बसाइँसराइ गर्दा गाउँका घर खाली भएका हुन् । गाउँमा पनि आजकल आधुनिक घर निर्माण गर्ने क्रम बढेकाले परम्परागत पुराना घरको संरक्षण हुन नसकेको हो ।
पर्या-पर्यटनका लागि आर्थरडाँडाखर्क सम्भावना बोकेको गन्तव्य हो । सदरमुकाम कुश्मा र पोखारदेखि सजिलै पुग्न सकिने भएकाले आन्तरिक पर्यटक गाउँले वातावरणमा रमाउन यहाँका पाहुना घरमा आउने गर्छन् ।
भत्केको भए पनि पुरानो शैलीका घुमाउने घरले पर्यटकको ध्यान तान्ने गरेको छ । ‘परम्परागत घुमाउने घर लोप हुनु भनेको जातीय, भौगोलिकताको पहिचान र मौलिकता गुमाउनु हो’, पर्वत उद्योग वाणिज्य संघ, पर्वतका सचिव राजन गुरुङले भने ।
आर्थरको पर्यटनलाई बढवा दिन भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले पनि केही दिन अघि खबर शिविर सञ्चालन गरेको थियो । ‘घुमाउने घरले गाउँको संस्कृति, मौलिकता र समुदायको परम्परालाई जीवित राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ’, जिल्ला शाखाका अध्यक्ष सन्तोष थापाले भने ।
कुश्मादेखि सार्वजनिक यातायातमा डेढघण्टाको यात्रा गरेपछि आर्थर पुगिन्छ । यहाँ आउने पर्यटकको बसाइँलाई ध्यानमा राख्दै प्रत्येकजसो घरमा पाहुना घर स्थापना गरिएका छन् । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चासेकोडाँडा पुग्न पनि आर्थर हुँदै जानुपर्छ ।
‘कुश्मादेखि नजिकै भएर पनि यस गाउँ टाढिए जस्तो देखिन्छ’, स्थानीयवासी रुपा थापा गुरुङले भनिन्, ‘गाउँमा रहेको दुई सय वर्ष पुरानो बौद्ध गुम्बा, गुरुङ समुदायको कलासंस्कृति झल्कने ढुंगाका पुराना र घुमाउने घर समेटिने गरी गुरुङ सङ्ग्रहालय बनाइ गाउँकै प्रवर्द्धनमा लाग्नुपर्ने देखिन्छ ।’
ढुंगाले छाएको छानो र रातो माटोले बनेका पुरानो घर यस गाउँका विशेषता भएपनि ती घरमा मान्छे बस्न छाडेको वर्षौ भइसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij