वेबटिभी खबर
बाँके । मुलुक संघीयतामा गइसकेपछि स्थानीय तहको दोस्रो कार्यकाल सुरु भइसकेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरू अहिले काम गरिरहेका छन् ।
स्थानीय तहले पाँच वर्ष पूरा गर्दा पनि बाँकेमा वडा कार्यालयले आफनै भवन अझै बनाउन सकेका छैनन् । वडा कार्यालय सीमित कोठा भाडामा लिएर सेवा प्रवाह गर्दा सेवाप्रवाह प्रभावकारी नभएको जनगुनासो छ ।
नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत २३ वटा वडा कार्यालय छन् । जसमध्ये अधिकांश वडा कार्यालयसँग आफ्नै भवन छैन् । उपमहानगरले भाडामा रहेका वडा कार्यालयका लागि वार्षिक ६० हजारदेखि तीन लाख ६० हजारसम्म बजेट बजेट विनियोजन गर्दै आएको छ ।
यद्यपि केही वडा कार्यालयको भवन निर्माणका लागि भने बजेट विनियोजन गरिएको छ । साथै उपमहानगरले चालु आर्थिक वर्षमा वडा कार्यालयका भवन भाडाका लागि २६ लाख बजेट विनियोजन गरेको हो ।
भवनका लागि उपयुक्त जग्गा तथा बजेट अभावका कारण भवन निर्माण हुन नसकेको वडा नं-२१ का अध्यक्ष राजकुमार साहुको भनाइ छ । नेपालगञ्ज उपमहानगर अन्तर्गत मात्रै नभइ जिल्लाका अन्य स्थानीय तहका वडा कार्यालयसँग आफ्नै भवन छैन् ।
बाँकेमा स्थानीय तहका कार्यालयले भाडा खर्च गरेर कार्यालय राख्नुपर्ने स्थिति नरहेपनि निर्माणाधीन भवन पूरा नहुँदा साँघुरो ठाउँबाट सेवा दिइरहेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकासँग सुविधा सम्पन्न भवन छ । खजुरा, नरैनापुर, डुडुवालगायतका स्थानीय तहको भवन निर्माणाधीन अवस्थामा छन् ।
डुडुवा गाउँपालिकाको प्रशासनिक भवनको निमार्ण अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कष्णप्रसाद पौडेलले बताए । उनले भवन निर्माणको काम सकिएको छ भने भवन सर्नका लागि फर्निचरलगायतको व्यवस्थापन भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij