वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा हरियालीसहितको अपांगमैत्री पैदलमार्ग निर्माण गर्ने भएको छ ।
राजधानीमा अपांगमैत्री पैदलमार्ग कमै रहेकाले यस्तो मार्ग बनाउन लागिएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरब ढकालले जानकारी दिए ।
भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा यो कार्यक्रम प्रारम्भ गरिने छ । अपांगमैत्री पैदलमार्गका लागि कुन सडक उपयुक्त हो भन्ने विषयमा नगर प्रमुखले गरेको सिफारिसका आधारमा काम गरिने उनको भनाइ छ ।
यसैगरी काठमाडौंको दक्षिणकाली, नागार्जुन र कागेश्वरी मनोहरा नगरपालिकामा पनि अपांगमैत्री पैदलमार्ग निर्माण गरिने छ । तीनवटै नगरपालिकाका कुन सडकमा यो मार्ग निर्माण गर्ने भन्ने सिफारिस नगर प्रमुखबाट आउने प्राधिकरणले जनाएको छ ।
यस्तो सिफारिस नगर प्रमुखबाट आउने क्रममा रहेको जनाइएको छ । ललितपुर महानगरपालिकाको कुन सडकमा यस्तो मार्ग बनाउने भन्ने सिफारिस नगर प्रमुखबाट आउन बाँकी रहेको सूचना अधिकारी ढकालले बताए ।
महानगरपालिकाले यसअघि जावलाखेलमा यस्तो मार्ग निर्माण गर्ने भने पनि कालोपत्र भइसकेकाले त्यहाँ काम गर्न नसकिने जनाइएको छ । तीनवटै जिल्लामा अपांगमैत्री पैदलमार्ग निर्माणका लागि १४ करोड बजेट विनियोजन गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij