वेबटिभी खबर
बाँके । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै विद्युतीकरण भएको छैन् ।
गाउँपालिकाको बनियाँ गाउँलगायतमा विद्युतीकरण नहुँदा स्थानीय अध्याँरोमा बस्न बाध्य भएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।
‘धेरै ठाउँमा विद्युतीकरण भएको छ तर केही ठाउँ बाँकी छ’, अध्यक्ष शाहले भने । पालिकाको वडा नं-३ को रतैया, वडा नं-१ को कटकुइँया, मझेरिटीलगायतका स्थानमा विद्युत्को पहुँच छैन् ।
लुम्बिनी प्रदेससभाका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमुना’ ले नरैनापुरको दुर्गम बस्तीमा विद्युतीकरणका लागि चासो देखाएर विद्युतीकरणको पहल गरेका छन् ।
गाउँपालिका अध्यक्ष शाहको पहलमा प्रदेशसभा सदस्य केसीले आफ्नो चुनावी क्षेत्रका केही दुर्गम बस्तीमा देखिएको विद्युत्को अभावबारे अनुगमन गरेर जानकारी लिएका हुन् ।
नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख सुरज गौतमसहित प्राविधिक टोली विद्युत् नपुगेको बस्तीको अनुगमन गरी फर्किएको छ ।
गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको बनियाँ गाउँमा हालसम्म बिजुली नपुगेकाले तत्काल विद्युत् पुर्याउन प्राधिकरणका प्रमुख गौतमसँग आग्रह गरेका छन् ।
नरैनापुरमा थप विद्युत् विस्तारका लागि एक हजार ५०० खम्बा र उक्त खम्बामा लाग्ने तारको व्यवस्था गर्न माग गरिएको छ । गाउँपालिका अध्यक्ष शाहले विद्युत् सेवा पुग्नु आफ्नो र नरैनापुरवासीका लागि खुसीको कुरा भएको बताए ।
अब सिँचाइका लागि विद्युत् विस्तार गर्न जरुरी भएको उनको भनाइ थियो । प्रदेशसभा सदस्य केसीले नरैनापुरको अन्य गाउँमा छ महिनाभित्रै बत्ती बाल्ने प्रतिबद्धता गर्दै अबको विकास नरैनापुरबाट सुरु हुने बताए ।
केसीले नरैनापुर सर्वोपरि विकासका लागि आवश्यक सम्भावनाको खोजीगरी आर्थिक उपार्जनको बाटोमा डोर्याउन आफू प्रतिबद्ध रहेको जिकिर गर्दै कृषिलाई आर्थिक विकासमा जोडेर स्थानीय उत्पादनको सहज बजारीकरणका लागि पहल गर्ने जानकारी दिए ।
विद्युत् प्राधिकरणका प्रमुख गौतमले नरैनापुरमा ६० प्रतिशत विद्युत् विस्तार भइसकेकाले बाँकी काम छिटो सम्पन्न हुने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij