Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

धनुषामा चार महिनामा अवैध काठ चोरी निकासीका सात मुद्दा

धनुषामा चार महिनामा अवैध काठ चोरी निकासीका सात मुद्दा

  • 325
    SHARES
  • धनुषामा चार महिनामा अवैध काठ चोरी निकासीका सात मुद्दा

    काठमाडौं । धनुषामा पछिल्लो चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने सात जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

    डिभिजन वन कार्यालय जनकपुरधाम धनुषाले दिएको जानकारीअनुसार अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चार महिनामै सात मुद्दामा करिब ५० क्युफिट काठसहित आरोपीलाई पक्राउ गरिएको हो ।

    कार्यालयका प्रमुख वन अधिकृत बेचन चौधरीले भदौयता अवैधरूपमा काठ चोरी निकासी गर्नेलाई पक्राउ गरि चारवटा मुद्दा दर्ता गरिएको र तीनवटा मुद्दा दर्ता प्रक्रियामा रहेको जानकारी दिए ।

    उनले अवैध काठ चोरी निकासीको आरोपमा पक्राउ पर्नेमा धेरैजसो मिल मालिक रहेको बताए ।

    उनले भने, ‘चार महिनामा सात घटनामा संलग्नलाई पक्राउ गरेका छौँ । अरुमाथि निगरानी बढाएका छौँ । विभिन्न कठिनाइका बाबजुद वन संरक्षण र चोरी निकासी नियन्त्रणका लागि हामी नयाँ रणनीतिसहित अगाडि बढेका छौँ ।’

    प्रमुख वन अधिकृत चौधरीले थोरै वन भएको जिल्लामा धेरै अवैध चोरी निकासीका घटना हुनु दुःखद् भएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सबैको सहयोग जरुरी रहेको बताए । यी मुद्दामा एउटा ट्र्याक्टरसहित करिब ५० क्युफिट काठसमेत बरामद गरिएको चौधरीले जानकारी दिए ।

    सामुदायिक वन उपभोक्ता महासंघ धनुषाका अध्यक्ष चन्द्र चौधरी महासंघले वन तथा वन पैदावारको संरक्षण गर्न समुदायमा सचेतना अभिवृद्धि र चोरी निकासी नियन्त्रणका लागि सधैँ सहयोगी भूमिका निर्वाह गरिरहेको बताए ।

    उनले भने, ‘संरक्षणका काममा महासंघ सधैँ साथसाथ छ । वन क्षेत्र विस्तार तथा अतिक्रमित क्षेत्र फिर्तालगायतका काममा वन कार्यालयले नेतृत्व गरोस् भन्ने हाम्रो चाहना हो ।’

    वन अतिक्रमण र चोरी निकासी मुख्य समस्या

    धनुषा मधेस प्रदेशअन्तर्गतका आठ जिल्लामध्ये सबैभन्दा कम वन क्षेत्र भएको जिल्ला हो ।

    यस जिल्लामा कुल क्षेत्रफल (एक लाख १८ हजार तीन सय हेक्टर)को २७ हजार पाँच सय ७८.६ हेक्टर वन अर्थात २३ दशमलव ३१ प्रतिशत वन क्षेत्र रहेको छ भने त्यसमध्ये आठ सय ७२ हेक्टर अतिक्रमण गरिएको डिभिजन वन कार्यालय धनुषाको तथ्यांक छ ।

    प्रमुख वन अधिकृत बेचन चौधरीले अतिक्रमण र चोरी निकासी यहाँको वन संरक्षणका लागि मुख्य समस्या भएको बताए ।

    उनले भने, ‘४० वर्ष अघिदेखि पटक-पटक गरि आठ सय ७२ हेक्टर वन अतिक्रमण भएको छ । दुई हजार एक सय ६२ परिवारले त्यो भूमिलाई अवैधरूपमा उपभोग गरिरहनुभएको छ ।’

    उनले केही वर्षयता थप अतिक्रमण हुन नदिन उच्च सतर्कतासहित डिभिजन वन कार्यालयले काम गरिरहेको र अब अतिक्रमित भूमि मुक्त गर्न कार्ययोजना बनाएर अगाडि बढ्ने बताए ।

    जिल्लाको अधिकांश वन क्षेत्र उत्तरतर्फको चुरे र भावरमा पर्ने भएकाले त्यहाँको भौगोलिक संरचनाको संवेदनशीलतालाई मध्यनजर राखी संरक्षणमुखी व्यवस्थापन कार्यमा सामुदायिक वनले पनि सहयोग गरिरहेको चौधरीको भनाइ छ ।

    सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष चन्द्रा चौधरीले संरक्षणका गतिविधिलाई जनस्तरसम्म पुर्याउन जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समितिलाई थप परिचालन र यहाँ रहेका वन पैदावारमा आधारित उद्योगलाई समेत जिम्मेवार बनाउने गरि अभियानकै रूपमा कार्यक्रम अगाडि बढाउन सके चोरी निकासी नियन्त्रणमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

    धनुषामा हाल दुई सयभन्दा बढी वन पैदावारमा आधारित सःमिल तथा फर्निचर उद्योग, ४० वटा सामुदायिक वन, २५  कबुलीयती वन, एक-एक  साझेदारी र संरक्षित वन तथा दुई सय १०  निजी वन रहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij