वेबटिभी खबर
रुकुम । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका-७ र ८ सँगै पुथा उत्तरगंगा गाउँपालिकाको-८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ ।
यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ । यहाँ मौसममा सुन्तला प्रशस्त फलेपछि बजार नहुँदा किसान समस्यामा पर्ने गरेका छन् ।
जिल्लामा शीतभण्डारको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको सुन्तला, स्याउ लगायतका फलफूल कुहिएर खेर जाने गरेका छ । लुम्बिनी प्रदेशको एक मात्र अर्गानिक जिल्ला घोषणा भएको रुकुम (पूर्व) मा उत्पादित सुन्तलालाई खेर जान नदिन स्थानीय स्तरमै जुस बनाउन थालिएको छ ।
बाहिरबाट प्रशिक्षक ल्याएर सुन्तला उत्पादन गरिरहेका किसानलाई जुस बनाउने तालिम प्रदान गरेपछि किसानले खेर जाने सुन्तलाबाट जुस उत्पादन गरिरहेका छन् ।
एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम (पूर्व) ले किसानलाई तीन दिनसम्म जुस बनाउने तालिम प्रदान गरेको थियो । तालिमका प्रशिक्षक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरेन्द्रनगर सुर्खेतका वरिष्ठ खाद्य संक्षण अधिकृत भेषबहादुर थापाले तीन प्रकारको जुस बनाउन सिकाइएको बताए ।
उनका अनुसार किसानलाई ‘नेक्टर जुस’ बनाउन सिकाइएको छ । यसमा केमिकल केही नमिसाएको र शुद्ध भएकाले धेरै राख्न नमिल्ने भन्दै जुस तयार पारेको एक दिनभित्रै प्रयोग गरिसक्नुपर्ने जानकारी दिए ।
अर्को ‘स्क्वास जुस’ बनाउन सिकाइएको छ । यो जुस एक लिटरमा तीन लिटर पानी मिसाएर खान सकिने वरिष्ठ खाद्य संक्षण अधिकृत थापाले बताए । अर्को सामान्य जुस बनाउन सिकाइएको छ । यसमा चिनी, पानी, खाद्य रंग लगायत प्रयोग गरिएको उनको भनाइ छ ।
उनले भने, ‘स्क्वास र जुसलाई नौ महिनाको लेबलिङ गरिएको छ । जुसको २५ र स्क्वासको एक सय ८० रुपैयाँ बोतल मूल्य पर्छ ।’ तालिमले सुन्तलाको जुस निर्माणमा किसानको उत्साह देखिए पनि भौगोलिक विकटता र आवश्यक स्रोतसाधनको अभावले चुनौती रहेको छ ।
तालिम पाएपछि सुन्तला किसान गणेश रावलले ठूला दाना बजारमा लगेर बिक्री गर्ने र सानो खालको दानाको जुस तयार पारेर बजारमा बिक्री गर्ने बताए ।
यसअघि मसिनो दाना र बजारमा बिक्री नभएको सुन्तला चाम्रिएर, कुहिएर खेर जाने गरेको बताउँदै अब हातमा सीप भएकाले खेर जाने सुन्तलाको जुस बनाइ त्यसबाट आम्दानी गर्न सकिने उनले जानकारी दिए ।
किसान रेखा गिरीले स्थानीयस्तरमा उत्पादन गरेको जुस निकै राम्रो रहेको र यसको माग धेरै रहेको बताइन् । तालिमकै क्रममा तयार पारेको जुस गाउँघरमा धेरै गएको उनको भनाइ छ ।
अब भने गाउँघरमा खेर जाने सुन्तला संकलन गरेर जुस बनाइ आम्दानी बढाउन सकिने छ । जुस उत्पादन तालिम निकै प्रभावकारी हुने एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताए ।
रुकुम (पूर्व) को एक सय ५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए ।
उनकाअनुसार अहिले ८२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले फल दिइरहेको छ । यसवर्ष जिल्लाभर नौ सय ७५ मेट्रिक टन सुुन्तला उत्पादन भएको कार्यालयले बताएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij