वेबटिभी खबर
पर्सा । भारतमा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगंज नाकामा उच्च सतर्कता अनपाउन थालिएको छ । भारतमा कोभिड संक्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगंज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन थालिएको हो ।
कोरोना भाइरसको संक्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाह थालिएको छ ।
हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजरलगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्वास्थ्यकर्मीलाई निर्देशनसमेत दिए ।
कोभिड संक्रमण फैलन नदिन सबैले सतर्कता अपनाउनुपर्ने देखिएकाले महानगरले आवश्यक आन्तरिक तयारी गर्न प्रवेशद्वारमा रहेको हेल्थ डेस्कको अनुगमन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए ।
अहिले दैनिक एक जनाको एन्टिजेन परीक्षण हुनाका साथै दुई सय जनाको स्क्रिनिङ गर्ने काम गरिरहेको हेल्थ डेस्कका चिकित्सक डा.अनिसा साहले जानकारी दिइन् । नेपालीको तापक्रम स्क्रिनिङ गर्ने गरिएको र विदेशीलाई भने एन्टिजेन नै परीक्षण गरेर पठाउने गरिएको हेल्थ डा.साहले बताइन् ।
हेल्थ डेस्कमा अहिले बिहान र बेलुकाको समयमा एन्टिजेन परीक्षण र शरीरको तापक्रम जाँच गर्ने गरिएको छ । हेल्थ डेस्कको सरसफाइ र मर्मतसम्भार गर्नुपर्ने कामलाई अघि बढाउन पनि कर्मचारीलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij