वेबटिभी खबर
बाँके । बाँकेको नेपालगञ्जमा बालबालिकामा दादुरा रोग देखापरेको छ । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रामा एकै घरका चार बालबालिकामा दादुरा देखिएको हो ।
पाँचदेखि १२ वर्ष उमेरका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको हो । त्यहाँ अरू १७ बालबालिकामा पनि दादुराको आशंका गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए ।
लामो समयपछि नेपालगञ्जमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन र स्वास्थ्य कार्यालय बाँकेको टोली उक्त स्थलमा खटिएको उनले बताए ।
दादुराको खोप नलगाएका या खोप पूरा नगरेका व्यक्तिमा दादुरा देखिने खोप सुपरभाइजर श्रेष्ठले जानकारी दिए । दादुराको पुष्टि भएका ती बालबालिका एउटै परिवारको भएको स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले बताइन् ।
पौडेलका अनुसार ज्वरो आउने, जीउ दुख्ने, रुघाखोकी लाग्ने तथा मुखभित्र नीलो र सेतो रंगको दागलगायत लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि बालरोग विशेषज्ञ डा.विनोद खेतान कहाँ लगिएको थियो ।
‘दादुराको जस्तो लक्षण देखिएपछि विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा पाँच जनाको रगत परीक्षणका लागि काठमाडौं पठाएका थियौँ’, प्रमुख पौडेलले भनिन्, ‘पाँचमध्ये चारजनामा दादुरा संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij