बागलुङ । बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भएपनि यहाँ समथर भू-भाग छ । तलतिर घना जंगल । यहाँबाट देखिने मनमोहक दृश्यले साँच्चिकै मन लोभ्याउने गर्छ ।
दुई जिल्लाको संगमस्थलमा रहेको तिलाचन ताल आधा दशक अगाडिसम्म ओझेलमा थियो । ताल उच्च पहाडको शिरमा हुँदा बागलुङ र रोल्पाका सीमा क्षेत्रका स्थानीयबाहेक बाहिरी जिल्लाका मानिसहरू यहाँ पुग्न सकेका थिएनन् ।
खासगरी यो ठाउँलाई गोठालाको बसोबास गर्ने र चरन क्षेत्रका रूपमा लिइन्छ । तीनवर्ष अगाडि मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि मात्रै तिलाचन ताल चर्चामा आएको हो ।
तालमा बागलुङ, पूर्वीरूकुम र रोल्पाको सिमाना पातिहाल्नेबाट आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने हुँदा यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
ताल रोल्पामा परे पनि बागलुङबाट नजिक पर्छ । ताल सुनछहारी गाउँपालिका-१ मा पर्छ तर साे क्षेत्र सडक सञ्जालले नजोडिँदा रोल्पाबाट अलि टाढापर्छ ।
तालसँग बागलुङको निसीखोला गाउँपालिका-६ जोडिएको छ । बागलुङतिरबाट राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पुगेको हुँदा तालमा पुग्न सहज छ ।
लोकमार्गका कारण दैनिक पर्यटक निसीखोला हुँदै जाने हुँदा पातीहाल्नेमा व्यापार व्यवसायसमेत बढ्न थालेको छ । यस ताललाई पहिले गोठालाले ‘तिलाचन दह’ भन्ने गरेको निसीखोला गाउँपालिका-६ का भेडापालक टिकाराम घर्तीमगरले बताए ।
उनले लोकमार्गको स्तरोन्नतिपछि यस ठाउँमा आउने मानिसको संख्या बढेको बताए । उनले भने, ‘तिलाचन क्षेत्र भेडाबाख्रा चराउने ठाउँ हो । बर्खाको चार महिना पूरै यहीँ बिताउँथ्यौँ, अहिले पनि असार साउनतिर यतै बस्छौँ, हामी यही तालको पानी खान्छौँ ।’
सडकका कारण गोठालाको बसोबास गर्ने ठाउँ र पानी भर्ने दह पर्यटकीय गन्तव्य बन्दै गएको उनको भनाइ छ । अहिले पनि यहाँ दुई जिल्लाका गोठालाले वस्तुभाउ चराउँदै आएको घर्तीमगरको भनाइ छ ।
उनले विकासले गति लिँदै गएपछि यस ठाउँले मुहार फेर्दै गएको बताए । अहिले गोठालाको दैनिकीसमेत फेरिँदै गएको घर्तीमगर बताउँछन् ।
उनले भने, ‘जमाना फेरिए, मोटर गाडी आउन थाले, पहिले हामी घरबाट खर्चपर्च लिएर तालसम्म आउन चार घण्टा पूरै लाग्यो, अहिले पातीहाल्नेसम्म आधा घण्टामा, त्यहाँबाट तालसम्म हिँडेर आधा घण्टा लाग्छ । ताललाई व्यवस्थित बनाइएको छ, तालको छेउमा पहिले ढुंगा राखेर पूजा गर्थे, अहिले मन्दिर निर्माण गरिएको छ ।’
स्थानीय देवीकुमारी बुढामगरले पछिल्लो ताल आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको बताइन् । बुढामगरका अनुसार बिदाको दिन अझ धेरै मानिसहरू घुम्न आउने गरेका छन् ।
केही दिनयता चिसो बढेका कारण आगन्तुक घटेको बुढामगरको भनाइ छ । चैतदेखि भदौसम्म पातीहाल्ने र तिलाचन तालमा आन्तरिक पर्यटकको भीडभाड हुने उनले बताइन् ।
उनले भनिन्, ‘केही दिनभयो चिसो धेरै बढेको छ, त्यही भएर होला मान्छे कम भएको, पानी परेर हिउँ पर्यो भने तालसम्म त मान्छे पुग्न सक्दैनन् । पातीहाल्नेसम्म हिउँ खेल्न आउँछन्, बाटो सजिलो छ, अहिले त बर्खामा पनि धेरै मान्छे तालमा पुगे, ताल वरपर त्रिपाल लगाएर एक-दुई दिन बास पनि बस्ने गर्थे । यहाँ त बाह्रै महिना मान्छे आउन थालेका छन् ।’
तालको छेउमा तिलाचन ताल बरहा मन्दिर छ । यस मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । सुनछहारी गाउँपालिका रोल्पाका सूचना अधिकारी रमेश गिरीले तिलाचन ताललाई पर्यटकीय गन्तव्य बनाउन काम गरिरहेको बताए ।
अघिल्लो वर्ष लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको १० लाखबाट ताल सरसफाई र मन्दिर निर्माण गरेको बताए । गाउँपालिकाले यो ताललाई पालिकाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा राखेको गिरीको भनाइ छ ।
उनले भने, ‘तालको छेउमा अहिले मन्दिर निर्माण भएको छ । मन्दिर निर्माण र ताल संरक्षणका लागि गत वर्ष १० लाखको काम भएको छ । पालिकाले यसको संरक्षणका लागि जुटिरहेको छ । ताल पहिलेदेखि नै चर्चित थियो । गाउँपालिकाले पनि प्रचार-प्रसार र प्रवर्द्धन गरिराखेको छ । यहाँ बागलुङबाट लोकमार्ग हुँदै धेरै पर्यटक आएको पाइएको छ ।’
निसीखोला गाउँपालिका-६ का अध्यक्ष हेमबहादुर बुढामगरले तिलाचन तालमा जाने आगन्तुकलाई लोकमार्गले सहज बनाइदिएको बताए । उनले केही वर्ष अगाडिसम्म स्थानीयबाहेक बाहिरी मान्छे तिलाचन तालमा नपुगेको भन्दै प्रचार-प्रसारले गर्दा टाढा-टाढाबाट यहाँ घुम्न र फोटो खिच्न आउने गरेको बताए ।
अध्यक्ष बुढामगरले हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्नमा लागि मान्छे घुम्न आउने गरेको बताउँछन् ।
उनले भने, ‘तिलाचन ताल निकै सुन्दर छ । अग्लो पहाडको टुप्पोमा यति राम्रो तालमा पुग्न जोकोही चाहन्छन्, पहिले त माथिल्लो गाउँबाहेक बाहिरी मान्छे त्यहाँ आउँदैनथे, पुग्ने सम्भावना पनि थिएन, अहिले प्रचारप्रसारले घुम्न आउनेको संख्या बढेको छ ।’
ताल क्षेत्रबाट धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खालको सहजरूपमा अवलोकन गर्न सकिन्छ । यहँबाट बागलुङ, रोल्पा, पूर्वीरूकुम, प्युठान, गुल्मीलगायतका ठाउँ देखिन्छन् । तालमा पर्यटक बढे पनि यहाँसम्म पुग्ने पदमार्ग भने अव्यवस्थित छ ।
आगन्तु पशुचौपाया हिँड्ने साँघुरो गोरेटोमार्फत तालमा पुग्ने गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology