वेबटिभी खबर
काठमाडौं । ०७७ चैतमा आयोजित एक कार्यक्रममा ‘रुखले अक्सिजन लिन्छ र कार्बन्डाइ अक्साइड फ्याँक्छ’ भन्ने अवैज्ञानिक अभिव्यक्ति दिएपछि आलोचनासहित चर्चामा आएका वन तथा वातावरणमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालमार्फत चर्चामा आएका छन् । चीन सरकारले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको अक्सिजन सिलिन्डरमा आफ्नो फोटोसहितको स्टिकर टाँसेर गृहजिल्ला डोटी पठाएपछि मन्त्री आले पुनः चर्चामा आएका हुन् ।
सरकारको बहालवाला मन्त्री पदमा रहेको व्यक्तिले सरकारलाई सहयोगमा आएको अक्सिजन सिलिन्डर आफ्नो खर्चमा गृहजिल्ला पठाएको भन्दै सिलिन्डरमा स्टिकर टाँसेपछि उनको आलोचना भएको हो । वैशाख २१ गते चीनले नेपालमा निलो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो । मन्त्री आलेले त्यसमा व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री दिएको सन्देश उल्लेख गरी स्टिकर टाँसेर आफ्नो चुनाव क्षेत्रमा पठाएका हुन् ।
चीनले नेपाललाई उपलब्ध गराएका अक्सिजन सिलिन्डरमा मन्त्री आलेले टाँसेको स्टिकरमा,‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको छ । ७५ थान अक्सिजन सिलिन्डर, डेढ लाख संख्याका सर्जिकल मास्क, औषधीहरू, एन्टिजेन किट, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री डोटीस्थित आफ्नो निर्वाचन क्षेत्रमा पठाएका हुन् ।
डोटीबाट निर्वाचित रहेका पूर्वसांसद आलेले सार्वजनिक कार्यक्रममा दिएका यी अभिव्यक्तिले उनलाई आलोचित बनायोः
-‘अब यो सरकारको गियर सिधै ७ नम्बरमा जान्छ । सिधै ७ नम्बरमा हालेपछि तपाईहरु रोडमा नजानुहोला तपाईहरु सिधै समुद्रमा हाम्फाल्नुहोला ।’
-‘यो जनताप्रति उत्तरदायी भएको सरकार कसैलाई लाग्छ भने त्यो तपाईंहरुको ठूलो भूल हो ।’
-‘रुखबाट हामी कार्वनडाइअक्साइड पाउँछौँ, जुन रुखलाई हामीले अक्सिजन दिन्छौँ, त्यो रुखलाई हामीले जोगाउनुपर्छ ।’
-‘कोरोना संक्रमणबाट मृत्यु भएकाका लागि पशुपति आर्यघाटमा दाउरा अभाव हुन दिइने छैन ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij