वेबटिभी खबर
काठमाडौं । अक्सिजन सिलिन्डरमा आफ्नो फोटोसहितको स्टिकर टाँसेर गृहजिल्लास्थित अस्पतालमा पठाएपछि आलोचित बनेका वन तथा वातावरणमन्त्री प्रेम आलेले उक्त आलोचनाको खण्डन गरेका छन् ।
आफ्नो फोटोसहितको स्टिकर टाँसेर डोटी पाठएका ती सिलिन्डर आफ्नै खर्चमा खरिद गरेको मन्त्री आलेले बताएका छन् । उनले निजी खर्चमा किनेको अक्सिजन सिलिन्डरमा मात्रै स्टिकर टाँसेको स्पष्ट पारेका छन् ।
सिलिन्डरमा स्टिकर टाँसेको भन्दै आलोचना भइरहेकाबेला मन्त्री आलेले व्यक्तिगत खर्चमा किनेको १ सय १० वटा सिलिन्डरमा स्टिकर टाँसिएको बताए ।
‘१५ वटा सिलिन्डर स्वास्थ्य मन्त्रालयबाट लिइएको हो, १ सय १० वटा मैले व्यक्तिगत खर्चले किनेको हुँ,’ मन्त्री आलेले प्रश्न गरे, ‘मैले किनेका सिलिन्डर हो, अनि कसको टाँसिदिनू ?’
आफूले व्यक्तिगत खर्चमा किनेर लगिएका र मन्त्रालयबाट लगिएका अक्सिजन सिलिन्डर केही डोटी जिल्लामा र बाँकी धनगढी प्रादेशिक सेती अस्पताललाई वितरण गरिएको उनले जानकारी दिए । १ लाख ५० हजार थान मास्क डोटीका स्थानीय तहमा र ५० हजार सेती अस्पतालमा दिएको उनको भनाइ छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij