वेबटिभी खबर
काठमाडौं । शुक्रबार मध्यरातबाट विकसित राजनीतिक घटनाक्रमका विषयमा सभामुख अग्नि सापकोटाले परामर्शका लागि पूर्वसभामुखहरूसँग राखेको परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, संसद भवनमा सापकोटाले पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसारी घर्ती मगरसँग सभामुख सापकोटाले दिउँसो साढे १ बजेदेखि अढाई घन्टा छलफल गरेका थिए ।
छलफलमा पूर्वसभामुखहरूले बजेट आउनुअघि नै विघटित संसद पुनः स्थापित हुनुपर्नेमा जोड दिएका छन् ।
छलफलमा पूर्वसभामुखहरूले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको र सर्वोच्चले बहुमत सांसदको भावनाअनुसार फैसला गर्नेमा आफूहरू विश्वस्त भएको धारणा राखेका छन् ।
संसद विघटन भएको अवस्थामा जेठ १६ मै बजेट ल्याउनुपर्नै संविधानको प्रावधान बाध्यकारी नहुने भन्दै सदनबाटै बजेट ल्याउनुपर्ने कुरा छलफलमा उठेको बताइएको छ ।
सभामुख सापकोटाले बोलाएको छलफलमा पूर्वभामुखहरू पौडेल, महरा र घर्ती भौतिक रूपमै उपस्थित थिए ।
अर्का पूर्वसभामुख तारानाथ रानाभाट भर्चुअलरूपमा सहभागी भए भने पूर्वसभामुख दमननाथ ढुंगाना र सुवास नेम्वाङ भने छलफलमा सहभागी भएनन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij