वेबटिभी खबर
काठमाडौं । सरकारले पहिलो पटक यस वर्षदेखि माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस बनाउन लागेको छ ।
नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य धेरैथरिका परिकार बनाए खाने माघे संक्रान्तिको महत्वका आधारमा दिन छनोट गरी ‘कृषि जैविक विविधता दिवस’ मनाउन लागिएको हो।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले माघे संक्रान्तिले समाज, संस्कृति, परम्परा, भूगोल र सबै जातजातिलाई जोड्ने र विविध परिकार खाने दिन भएकाले त्यसलाई दृष्टिगत यस वर्षदेखि निरन्तरूपमा माघ १ गते यो दिवस मनाइने बताए ।
माघे संक्रान्तिमा जातीय परम्पराअनुसार नियमित खानाबाहेक खित्रो, सेलरोटी, शखर खण्ड, तरुल, पीडालु, फुलौरा, तिलौरा, घ्यू, चाकु, माछा मासु, घुँगी, अण्डालगायतका विविध परिकार बनाएर खाने परम्परा छ ।
कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, गरिब तथा सिमान्तकृत समुदायको जीविकोपार्जन एवम् स्वच्छ वातावणको मुख्य आधार भएको जनाउँदै सरकारले बजेट वक्तव्यमार्फत विसं २०७९ लाई समेत राष्ट्रिय कृषि जैविक विविधता वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको छ ।
जैविक विविधतामा नेपाल धनी भने पनि पछिल्लो समय बासस्थान विनाश, आधुनिक खेतीका नाममा नकारात्मक अभ्यास र अन्य मानव सीर्जितकारणले समग्र जैविक विविधता संरक्षणमा ह्रास हुँदै आएको छ ।
रैथाने कृषि जैविक विविधता बाली, खाँसेवाली, पशुपक्षी, जलीय, किरा र सूक्ष्म जीवाणुजन्यमध्ये करिब ४० प्रतिशत लोप भइसकेको अनुमान गरिएको छ । कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा स्थानीय समुदायको अहम् भूमिका एवम् जिम्मेवारी रहिआएको छ ।
कृषि जैविक विविधताको अभियान भान्साबाट सुरु होस् भन्नाका खातिर खानाको विविधतालाई सांस्कृतिसँग जोडेर माघे संक्रान्तिलाई विविधता दिवसकारूपमा मनाउने निर्णय भएको बाली विकास तथा कृषि जैविक विविधा संरक्षण केन्द्रका निर्देशक रामकृष्ण श्रेष्ठले बताए ।
निर्देशक श्रेष्ठले भने, ‘हाम्रा चाडपर्व, रीतिरिवाज र अभ्यास कृषि जैविक विविधताका अभिन्न अंग हुन् । कृषि जैविक विविधता र माघे संक्रान्तिबीच अन्योन्याश्रित सम्बन्ध छ ।’
सरकारले राष्ट्रिय कृषि जैविक विविधता दिवस भोलि माघ १ गतेदेखि विभिन्न कार्यक्रम गरी साताव्यापीरूपमा मनाउने निर्णय गरेको छ । केन्द्र, प्रदेश र पालिकाबीचको समन्वयमा औपचारिक र अनौपचारिकरूपमा खाद्य परिकार मेला, अन्तरक्रिया, संरक्षमा योगदान पुर्याउनेलाई पुरस्कृत गरी मनाइनेछ ।
कृषि जैविक विविधताको महत्व, मूल प्रवाहीकरण, संरक्षणका लागि विधि र पद्धतिको विकास गर्नु दिवसको उदेश्य हो ।सोका लागि प्रचारप्रसार, सामाग्री प्रकाशन र वितरण, महत्व उजागर, उपलब्धिबारे जानकारी र संरक्षणका लागि प्रेरित गर्ने सचेतनामूलक कार्यक्रम गरिने केन्द्रले जनाएको छ ।
जैविक स्रोत संरक्षणका लागि वृक्षरोपण, बीउ संरक्षण, सूचीकृत तथा रैथाने परम्परागत प्रविधि र सामाग्री संकलन तथा प्रदर्शनसँग लक्षित कार्यक्रम रहेको छ ।
केन्द्रले रैथान परिकार विविधीकरण र बजारीकरण, साझेदारी र सहकार्य, विद्यालय दिवा खाजा कार्यक्रममा रैथाने परिकार समावेश तथा जैविक विविधता संरक्षणमा संलग्नलाई सम्मान र पुरस्कृतका प्रवर्द्धानात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
रैथाने जात र स्थान विशेषको लोप हुन लागेका कृषि विविधतालाई जोगाउने काममा पनि केन्द्र समर्पित छ । कृषि जैविक विविधता संरक्षणका लागि किसान आयोग, संघ र प्रदेशिक मन्त्रालय मतहतका कार्यालयबाट प्रवर्द्धनात्मक, प्रोत्साहनमूलक तथा विश्वविद्यालयद्वारा अध्यापन, अनुसन्धानको काम हुँदै आएको छ भने गैरसरकारुी संघ संस्थाबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
सरकारले स्थानीय रैथानेबाली प्रवर्द्धन तथा कृषि जैविक विविधता संरक्षणका लागि सातै प्रदेशका २७ पालिकालाई अनुदान सहयोग पठाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij