वेबटिभी खबर
डोटी । डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन् ।
जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका हुन् ।
सुन्तला सरदर प्रतिकिलो ७० देखि ८० मा बिक्री भइरहेको किसानले बताएका छन् । जिल्लाभित्र तथा जिल्ला बाहिरका व्यापारी कृषकको बारीसम्म सुन्तला खरिद गर्न आउने गरेका कारण बजारको समस्या नभएको जोरायल गाउँपालिका-६ का वडाध्यक्ष गणेश बोहराले बताए ।
‘जोरायलबाट मात्र यस वर्ष दुई करोडको सुन्तला बिक्री भएको छ’, वडाध्यक्ष बोहराले भने । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।
जिल्लामा गत आवमा २८५ हेक्टरमा दुई हजार पाँच सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस वर्ष तीन सय १३ हेक्टरमा गरिएको खेतीबाट तीन हजार मेट्रिकटन सुन्तला उत्पादन भएको पनेरुले बताए ।
जेरायल गाउँपालिका-१ को निरौली, बडीकेदार गाउँपालिकाको पातल, मुडा, रजेडा, छेडा, टिमिट्ट लाना, खेतालीलगायतका स्थानमा सुन्तला उत्पादन अत्यधिक मात्रामा हुने गरेको छ ।
बडीकेदार गाउँपालिका-१ पातलबाट करिब ५० लाख बराबरको सुन्तला बिक्री भएको समैजी कृषि समूहका अध्यक्ष टेकबहादुर क्षेडालको भनाइ छ । यसपाली प्रतिकिले ७० का दरले सुन्तला बिक्री भएको छ ।
बडीकेदार-१ वडाध्यक्ष डबल बोहराले सुन्तला खेती हुने गाउँ सडक सञ्जालसित जोडिएको बताए । ‘गत वर्षभन्दा सुन्तला उत्पादन बढेको छ, मूल्य पनि राम्रै पाइएको छ’, वडाध्यक्ष बोहराले भने ।
सडक सुविधासँगै सुन्तलाले सहजरूपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तला खेतीमा किसानको आकर्षण बढ्न थालेको छ । सुन्तला बिक्रीबाट यस वर्ष १० लाखसम्म आम्दानी भएको बडीकेदार-४ का चक्र जेठराले बताए ।
उनी १० वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनमा समेटिए पनि सुविधा पाउन नसकेको यहाँका कृषकले गुनासो गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij