वेबटिभी खबर
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बुद्ध जयन्तीको अवसरमा बुद्धको महत्वबारे प्रकाश पार्दै सामाजिक सञ्जाल फेसबुकमा केही विवरण र तथ्यहरू प्रस्तुत गरेका छन् । भौतिकवाद र आध्यात्म दुवैको संयोजनसहितको राजनीतिक नेतृत्वको वकालत गर्दै आएका मिश्रले वर्तमान राजनीति नेतृत्वबाट बुद्धको महानता ‘नजिकको देवता हेलाँ’ भनेझैं भएको उल्लेख गरेका छन् ।
उनले देउताको महत्व बुझ्न पनि असल नेतृत्व नै चाहिने मत दर्ज गरेका छन् । ‘देउताको महत्व बुझ्न पनि असल नेतृत्व नै चाहिने रहेछ !,’ मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म बौद्धनाथको छायाँमा हुर्किएँ । मेरो पुर्ख्यौली घर यही स्तुपको पछाडि (उत्तरतर्फ) छ। यसको संरचना, विशालता, वैभव संसारमै अतुलनीय छ । बुद्धको जन्मस्थल लुम्बिनीको वैभव त्यत्तिकै अतुलनीय छ । तर ‘नजिकको देवता हेलाँ’ भनेझैं हामीले यसको महत्व बुझ्नै र विश्वलाई बुझाउनै सकेनौं ।’
विश्वसम्पदामा सूचिकृत नेपालका सम्पदालाई थप व्यस्थित गर्न सके फ्रान्सको आइफल टावरमा भन्दा बढी पर्यटम भित्र्याउन सकिने समेत उनले बताएका छन् ।
‘विश्व सम्पदा सूचीमा सूचिकृत यी केन्द्रहरू विकसित देशमा भइदिएको भए यिनले फ्रान्सको आइफेल टावर जत्तिकै या त्योभन्दा बढी पर्यटक भित्र्याउन सक्थे । तर यो देशको सृजनात्तमक सोच र दूरदृष्टीहीन भ्रष्ट नेतृत्वहरुले गर्दा विश्वमै यस्ता अतुलनीय सम्पदा, विविध संस्कृति तथा प्राकृतिक सौन्दर्यले भरिएको यो देशमा पर्यटनबाट हुने आय कूल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित छ,’ मिश्रले लेखेका छन्, ‘जबकी, भुटानको झण्डै ५, थाइल्यान्डको १२, कम्बोडियाको १६ र मालदिभ्सको ६० प्रतिशत रहेको छ । देउताको महत्व बुझ्न पनि असल नेतृत्व नै चाहिने रहेछ ।’
साथै उनले बुद्ध जयन्ती र वैशाख पूर्णिमा, चण्डी पूर्णिमा, मष्ट पूर्णिमा, उभौली, गोरखनाथ जयन्ती र कूर्म जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
देउताको महत्व बुझ्न पनि असल नेतृत्व नै चाहिने रहेछ! pic.twitter.com/LSqEi7rgPT
— Rabindra Mishra (@RabindraMishra) May 26, 2021
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij